काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ एवम् सांसद डा.तोसिमा कार्कीले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई पुनः आमरण अनसन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताउँदै सरकारले जायज माग तत्काल सम्बोधन गर्नुपर्ने बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले डा. केसीजस्तो निष्ठावान् सत्याग्रहीले आफ्नो ज्यानको बाजी राखेर सरकारलाई खबरदारी गर्नुपर्ने अवस्था आउनै नपर्ने थियो भन्दै सरकारले तत्काल संवादमार्फत समस्या समाधान गर्नुपर्ने उल्लेख गरेकी छन् ।
उनले प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्य मन्त्रीसँग डा. केसीले सिधै छलफल गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै विगतका सरकारसँग भएका सम्झौतासमेत कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।
कार्कीले आफूले शिक्षामन्त्री तथा प्रधानमन्त्रीको सचिवालयको समेत ध्यानाकर्षण गराइसकेको उल्लेख गर्दै शरीर गलेपछि, आन्दोलन चर्किएपछि वा जनदबाब बढेपछि मात्र सम्बोधन गर्ने प्रवृत्ति दोहोरिनु हुँदैन भनेकी छन्।
गेटा विश्वविद्यालयको विषयमा फैलाइएको भ्रमप्रति पनि उनले आपत्ति जनाएकी छन् । डा. केसीले शहीद दशरथ चन्द विश्वविद्यालयको विरोध नभई सुदूरपश्चिममा ३०० शय्याको अस्पताल तत्काल सञ्चालन हुनुपर्ने माग राख्दै आएको स्पष्ट पारेको उल्लेख गर्दै उनको धारणा तोडमोड गरेर प्रस्तुत गर्नु सत्याग्रहीप्रतिको अपमान हुने बताएकी छन् ।
उनले गेटामा अस्पताल र चिकित्सा शिक्षाको विकासका लागि डा. केसीको सत्याग्रहले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै अहिले विश्वविद्यालयको अवधारणालाई स्वागतयोग्य उपलब्धि भएको उल्लेख गरेकी छन् ।
कार्कीले नेपाली जनताको हित केन्द्रित चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको अभियानमा म डा. गोविन्द केसीसँग सधैँ थिएँ, छु र रहनेछु भन्दै आफ्नो समर्थन दोहोर्याएकी छन् ।
प्रतिक्रिया दिनुहोस