२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नगद कारोबारमा तोकिएको सीमा बढाउन निजी क्षेत्रको माग, कसले के भने ?

सोमवार , माघ १२, २०८२

काठमाडौं । यही माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने माग गरेका हुन् ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमेत उपस्थित रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले रु पाँच लाखभन्दा माथिको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थामा संशोधन आवश्यक रहेको बताए ।

महासङ्घका अध्यक्ष ढकालले बैंकिङ पहुँच र यसको प्रयोग देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा रु पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या सिर्जना गरेको उल्लेख गरे। यस्तो सीमा तोकिनुका पछाडि नेपाल सम्पत्ति शुद्दीकरणसम्बन्धी विषयमा ‘ग्रे लिस्ट’मा रहेकाले सरकार र केन्द्रीय बैंकमाथि अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब परेको हुन सक्ने उनको भनाइ थियो ।

अध्यक्ष ढकालले लगानी वातावरण सहज बनाउने तथा निजी क्षेत्र प्रवर्द्धन गर्ने आर्थिक नीतिमा संशोधन गर्नका लागि अहिले सही समय रहेको धारणा व्यक्त गरे। भन्सार राजस्वलाई मात्र प्राथमिकता दिनेभन्दा मुलुकभित्रका उद्योग–व्यवसाय तथा उद्यमशीलता प्रवर्द्धन गर्ने नीतिमा सरकार अघि बढ्नुपर्ने उनको जोड थियो । साथै होटल तथा पर्यटन क्षेत्रले अन्य उद्योगसरह राज्यबाट पाउने सुविधा प्राप्त गर्न नसकेको उल्लेख गरे ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासन राष्ट्रिय अर्थतन्त्र र व्यापार सहजीकरणका लागि अत्यन्त महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै आर्थिक सुशासन कायम गर्न सक्नुपर्ने आवश्यकता औँल्याए । उनले विद्यमान भन्सार ऐनमा रहेका दण्ड–जरिवानासम्बन्धी व्यवस्था कठोर र अव्यवहारिक रहेको आरोप लगाए ।

अग्रवालले मूल्य अभिवृद्धि कर ९भ्याट० मा बहुदर कायम गरिनुपर्ने आवश्यकता औँल्याउँदै नेपाललाई वैवाहिक कार्यक्रमका लागि उत्कृष्ट गन्तव्य ९वेडिङ डेस्टिनेसन० का रूपमा विकास गर्न त्यस्ता कार्यक्रमका लागि नेपाल आउने सामग्रीमा भन्सार सहजीकरण हुनुपर्ने बताए । साथै रु पाँच लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई समस्या सिर्जना गरेको उनको भनाइ थियो ।

कार्यक्रममा भन्सार एजेन्ट महासङ्घका अध्यक्ष प्राचिनकुमार थैवले अवैध व्यापार नियन्त्रण, आर्थिक विकास, राजस्व सङ्कलन तथा वैदेशिक व्यापार सहजीकरणका लागि पारदर्शी र प्रविधिमैत्री भन्सार प्रणाली विकास गर्न जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट