२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

शारीरिक परीक्षण र लिखित परीक्षामार्फत म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

शनिवार , माघ १७, २०८२

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ जना निर्वाचन प्रहरी छनोट भएका हुन् । शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरुलाई नियुक्तिका लागि शनिबार सम्पर्कमा बोलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

निर्वाचन प्रहरीको वैकल्पिक सूचीमा छनोट भएका २८६ जनामध्ये २१२ जना छिमेकी जिल्ला बागलुङमा पठाइने उनले बताए । छनोट भएका निर्वाचन प्रहरीहरुका लागि आइतबारदेखि तालिम सञ्चालन गरिने भएको छ ।

बेनी र इलाका प्रहरी कार्यालय रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तालिम सञ्चालन गरिने प्रनाउ थापाले बताए । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षाको ब्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गर्न लागिएको हो ।

छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४२ हजार ३३२ पुरुष र ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कूल ८६ हजार ३९७ जना मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अति संवेदनशील, २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यसहित सुरक्षा अधिकारीहरुको टोलीले मतदानस्थलको निरीक्षण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई, छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ वटा मतदानस्थलमा १२० मतदान केन्द्र कायम भएको छ ।

म्याग्दीमा एक स्वतन्त्र र ११ जना राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट