काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकालबाट प्रहरीले गोली प्रहार गरी ६५ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति बाँके घर भएका प्रेम चौधरी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी विशेष सूचनाका आधारमा गएराति करिब साढे ११ बजे नागार्जुन नगरपालिका क्षेत्रमा पुगेको थियो । सो क्रममा चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा एक जना प्रहरी हबल्दार सामान्य घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार पक्राउ परेका चौधरीको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीले चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद रकम र घरेलु हतियार बरामद गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनी काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध चोरीका घटनाका मुख्य आरोपी रहेको प्रहरीको दाबी छ ।
यसैहप्ता काठमाडौंको भोटेबहाल क्षेत्रमा करिब २५ तोला सुन चोरी भएको थियो । यस्तै, गत मंगलबार बौद्ध टुसालस्थित एक घरबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यका गरगहना चोरी भएको थियो । कालिमाटी र ललितपुरका विभिन्न स्थानमा पनि नगद तथा गरगहना चोरीका घटनाहरू भएका थिए ।
प्रतिक्रिया दिनुहोस