काठमाडौं । विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि सम्मेलन मानिने 'वेब समिट कतार २०२६' (Web Summit Qatar 2026) मा नेपाली आर्टिफिसियल इन्टेलिजेन्स (AI) कम्पनी 'टिङ टिङ' (Ting Ting) ले ऐतिहासिक उपस्थिति जनाएको छ।
कतारको दोहामा गत फेब्रुअरी ४ मा सम्पन्न भएको चार दिने उक्त भव्य सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने 'टिङ टिङ' एकमात्र स्टार्टअप कम्पनी बनेको छ। विश्वभरका प्रविधि विशेषज्ञ, दिग्गज लगानीकर्ता र नवप्रवर्तनकारी कम्पनीहरूको कुम्भमेला मानिने यस समिटमा १२० देशका १,६०० भन्दा बढी स्टार्टअपहरू सहभागी थिए। हजारौँ कम्पनीहरूबीचको कडा प्रतिस्पर्धा पार गर्दै टिङ टिङले आफ्नो स्थान सुरक्षित गर्नु नेपाली प्रविधि क्षेत्रकै लागि गौरवको विषय बनेको छ।
नेपालमै निर्मित आफ्नै 'रिरी' (Riri) इन्जिन र स्थानीय भाषालाई सूक्ष्म रूपमा बुझ्ने अत्याधुनिक प्रणालीका कारण कम्पनीले विश्व मञ्चमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको हो। ‘नेपालमा निर्मित, विश्वका लागि’ सम्मेलनको मुख्य आकर्षण मध्येको एक 'स्टार्टअप शोकेस' (Startup Showcase) मा टिङ टिङकी डाइरेक्टर अफ इन्जिनियरिङ, एन्जेलिका साहले कम्पनीको तर्फबाट विशेष प्रस्तुति दिएकी थिइन् ।

विश्वका प्रभावशाली लगानीकर्ता र प्रविधि विज्ञहरू माझ बोल्दै साहले भनिन्, "हामी 'नेपालमा निर्मित, विश्वका लागि' (Made in Nepal for the world) भन्ने मूल मन्त्रका साथ अघि बढेका छौँ। नेपालका ठूला बैंक, इन्टरनेट सेवा प्रदायक र सरकारी निकायहरूको सञ्चार प्रणालीमा सफलतापूर्वक प्रयोग भई 'ब्याटल टेस्टेड' (Battle-tested) भइसकेको हाम्रो प्रविधिले अब विश्व बजारमा पनि ठूला समस्याहरू समाधान गर्न सक्छ।"
उनले नेपालमा विकास गरिएको एआई प्रविधिले कसरी संस्थाहरूलाई आफ्ना ग्राहकका कुराहरू गहिराइमा बुझ्न र सोही अनुसार सेवा प्रवाह गर्न मद्दत गरिरहेको छ भन्ने कुरा प्रष्ट पारिन्। नेपाल: उपभोक्ताबाट उत्पादक तर्फ टिङ टिङको यो सफलताले नेपाल अब प्रविधिको उपभोक्ता मात्र नभई विश्वव्यापी स्तरमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादकको रूपमा उदाइरहेको सन्देश दिएको छ। काठमाडौंबाट सुरु भएको यो यात्राले हाल अन्य अन्तर्राष्ट्रिय भाषाहरूमा पनि आफ्नो क्षमता विस्तार गरिरहेको छ।

सम्मेलनका क्रममा टिङ टिङको टोलीले विभिन्न अन्तर्राष्ट्रिय लगानीकर्ता र प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूसँग अर्थपूर्ण संवाद र नयाँ साझेदारीका लागि महत्वपूर्ण छलफलहरू समेत गरेको छ। यो सहभागिताले समग्र नेपाली स्टार्टअप इकोसिस्टमका लागि अन्तर्राष्ट्रिय लगानी र विश्वव्यापी साझेदारीको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ। के हो टिङ टिङ (Ting Ting)? टिङ टिङ एउटा एआई-पावर बिजनेस कम्युनिकेसन सुइट (AI-powered Business Communication Suite) हो, जसले संस्थाहरूलाई ठूलो परिमाणमा (Scale) सञ्चार र बुझाइ निर्माण गर्न सघाउँछ।
यसले भ्वाइस, टेक्स्ट, टेलिफोन वा सामाजिक सञ्जाल जस्ता सबै सञ्चार माध्यमलाई एउटै इन्टेलिजेन्ट प्रणालीमा एकीकृत गर्दछ। नेपालमै निर्मित 'रिरी' इन्जिनमार्फत यसले व्यवसायहरूलाई नेपाली लगायत स्थानीय भाषाहरूमा हुने हजारौँ संवादहरू एकैसाथ व्यवस्थापन गर्न, ग्राहकलाई गहिरो रूपमा बुझ्न र छिटो प्रतिक्रिया दिन सक्षम बनाउँछ।
प्रतिक्रिया दिनुहोस