काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयको प्रमुख नै जिम्मेवार रहेको बताएकी छिन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनल भ्रष्टचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको भएपनि प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संरचनाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि हामीकहाँ पर्याप्त संरचना छन्। पर्याप्त कानुनी र नीतिगत व्यवस्था पनि छन्। तर पनि किन हामीकहाँ भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण हुन सकिरहेको छैन ? किन भ्रष्टाचार निवारणकै माग राखी जेनजी युवाले गत भदौ २३ र २४ गते सडकमा आन्दोलन गर्नुपर्यो ? यी प्रश्नमा विचार गर्दा, हामी सबैले बुझ्नुपर्ने र मनन पनि गर्नुपर्ने कुरा के छ भने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अंगको नै हो। त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संरचनाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ।’
जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र चाहेको सुधार गर्न नसक्ने पनि प्रधानमन्त्रीको ठम्याई छ ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले नागरिकमैत्री प्रशासनको अनुभूति गराउने, भ्रष्टाचार नियन्त्रणलगायत समग्र शासकीय सुधारका कार्यलाई प्राथमिकतासाथ अघि बढाइरहेको पनि बताइन् ।
यसैगरी वर्तमान सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको र राज्यकोषमा भार पार्ने गरी हुने अनावश्यक भर्तीहरु रोकेको उनले जानकारी गराइन् ।
प्रतिक्रिया दिनुहोस