विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका लागि ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
सार्वजनिक प्रतिवद्धतापत्रमा घिमिरेले कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाहरू अघि सारेका छन् । मोरङका एमालेका ६ जना उम्मेदवारमध्ये प्रतिबद्धता पत्र सार्वजनिक गर्ने उनी पहिलो उम्मेदवार बनेका छन् । अन्य पार्टीका उम्मेदवारले पनि प्रतिवद्धतापत्र सार्वजनिक गरेका छैनन् ।
घिमिरेले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख ऐन–कानुन निर्माणमा पहल गर्ने, भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी नीति लागू गर्ने र प्राकृतिक विपद्का कारण भाद्र २३–२४ गते क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै कृषि क्षेत्र सुधारका लागि कटहरी, ग्रामथान र बेलबारीलाई तरकारी पकेट क्षेत्र घोषणा गरी बजार व्यवस्थापन गर्ने, ग्रामथानको झोराहाटमा कोल्ड स्टोर स्थापना गर्ने, तमोर–चिसाङ डाइभर्सन परियोजना अघि बढाउने तथा आवश्यकताअनुसार डीप बोरिङमार्फत सिँचाइको व्यवस्था गर्ने योजना उनले अघि सारे । किसानलाई समयमा मल, बीउबिजन उपलब्ध गराउने पनि उनको प्रतिबद्धता छ ।
त्यसैगरी बेलबारी, ग्रामथान र कटहरीमा १०० शैय्याको अस्पताल स्थापना, कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन, स्वास्थ्य बिमा सुविधा पुनः एक लाख रुपैयाँ कायम गर्ने तथा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने योजना सार्वजनिक गरिएको छ । जेष्ठ नागरिक ग्राम निर्माण, जनता आवास कार्यक्रममार्फत घरवारविहीनलाई आवास उपलब्ध गराउने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
युवालाई लक्षित गर्दै विराटनगरमा आईटी हब स्थापना, रोजगार बैंक अवधारणा कार्यान्वयन, प्राविधिक तथा सीपमूलक तालिम सञ्चालन गरिने उनले बताए । सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि नीतिगत व्यवस्था गरिने उल्लेख गरिएको छ ।
अधुरो रहेको विराटनगर रिङरोड सम्पन्न गर्ने, विभिन्न सडक कालोपत्रे गर्ने, कटहरीमा रेलवे स्टेसन निर्माण गरी भारतको बथनाहादेखि रेल सेवा विस्तार गर्ने, खोलामा तटबन्ध निर्माण गर्ने र डुवान क्षेत्रको निकास व्यवस्थापन गर्ने योजना अघि सारिएको छ ।
सिंधिया नदी क्षेत्र सौन्दर्यकरण, धनपालथान, बालुघाट, बजरंगबलीलगायत स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, थारु संग्रहालय तथा होमस्टे निर्माण गर्ने योजना पनि समावेश छ ।
त्यसैगरी सिमान्तकृत समुदायको भाषा–संस्कृति संरक्षण, स्वदेशी उद्योगी व्यवसायीलाई प्रोत्साहन, लगानीमैत्री वातावरण निर्माण तथा स्रष्टाको सम्मानका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै घिमिरेले आफूलाई विकास र सुशासनमुखी उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस