काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकै चरणमा मतदान हुँदैछ ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । सुरक्षाको समन्वयका कारण मतदानको ठ्याक्कै समय भने सार्वजनिक गरिएको छैन ।
गगनकुमार थापाले बिहान १० बजे मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्ने जनाइएको छ । थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार भए पनि उनी काठमाडौंमा मतदाता रहेकाले आफूलाई भने मत दिन पाउने छैनन् ।
केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदानस्थलबाट दिउँसो साढे ११ बजे मतदान गर्ने कार्यक्रम छ । ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा रहे पनि उनको मतदान स्थल भक्तपुरमा रहेकाले उनले पनि आफूलाई मत हाल्न पाउने छैनन् ।
झापा क्षेत्र नम्बर ५ बाटै प्रतिस्पर्धामा रहेका बालेन्द्र शाह ९बालेन० ले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुलबाट बिहान ७ बजे मतदान गर्ने कार्यक्रम छ । उनी पनि आफ्नो निर्वाचन क्षेत्रमा मतदाता नरहेकाले आफूलाई मतदान गर्न पाउँदैनन् ।
रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ स्थित महांकाल चौर मतदानस्थलबाट मतदान गर्नेछन् । चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका लामिछानेले पनि आफूलाई मत हाल्न नपाउने जनाइएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुरबाट मतदान गर्ने कार्यक्रम छ । रुकुम पूर्वबाट उम्मेदवार रहेका उनी पनि आफ्नो क्षेत्रमा मतदाता नभएकाले आफूलाई मतदान गर्न पाउने छैनन् ।
त्यसैगरी माधव कुमार नेपालले गृहजिल्ला रौतहटको गौरस्थित रामजानकी कन्या आधारभूत विद्यालयबाट मतदान गर्ने कार्यक्रम छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
देशभर शीर्ष नेताहरू आ–आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्ने तयारीमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस