२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सत्ती भन्सारले आठ महिनामा उठायो साढे ९ करोड राजस्व, लक्ष्य भेटाउन चोरीपैठारी बाधक

मंगलवार , चैत्र १०, २०८२

कैलाली । टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व संकलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजस्व संकलन गर्नुपर्ने देखिएको हो । कार्यालयले चालु आवमा १५ करोड ८४ लाख ४९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा फागुनसम्म नौ करोड ६२ लाख ४१ हजार संकलन गरेको छ ।

कार्यालयले लक्ष्यको सबैभन्दा कम साउनमा ६३ लाख ३७ हजार राजस्व संकलन गरेको छ । साउनमा एक करोड २८ लाख ९० हजार राजस्व संकलन गर्नुपर्ने भए पनि लक्ष्यको ४९.१७ प्रतिशतमात्रै संकलन भएको कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मङ्सिरमा एक करोड ६७ लाख ७४ हजार अर्थात् लक्ष्यको १३८.५१ प्रतिशत राजस्व संकलन भएको छ । मङ्सिरमा भन्सारले एक करोड २१ लाख १० हजार राजस्व संकलनको लक्ष्य पाएको थियो ।

कार्यालयले बितेको आठ महिनामा चार महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ भने चार महिना लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयका अनुसार असोज, मङ्सिर, पुस र माघमा लक्ष्यभन्दा बढी राजस्व उठेको छ । बाँकी साउन, भदौ, कात्तिक र फागुनमा लक्ष्य हासिल गर्न सकेको छैन ।

भन्सार प्रमुख सोनीले चार महिनामा भन्सारले राजस्व संकलनको लक्ष्य हासिल गर्ने दाबी गरे । “सामानको आयात कतिसम्म हुन्छ भन्ने कुराले राजस्व संकलनको लक्ष्य निर्धारण गर्ने हो”, उनले भने, “लगभग अहिलेसम्मको भन्सारबाट आयात हुने सामानको अवस्था हेर्दा लक्ष्य हासिल हुनेमा ढुक्क छौँ ।” उनले खुला सिमानाका कारण कैयौँ चोरीपैठारीका घटना हुने हुँदा राजस्व संकलनमा चुनौती देखिएको बताए । भन्सार प्रमुख सोनीले भन्सारको स्तरोन्नति भएर क्वारेन्टाइन स्थापना भए करोडमा नभई अर्बमा राजस्व संकलन हुने विश्वास व्यक्त गरे ।

गत वर्ष भन्सारले लक्ष्यको ११९ प्रतिशत राजस्व संकलन गरेको थियो । १२ करोड सात लाख ३२ हजारको लक्ष्य रहेकामा १४ करोड ३७ लाख ८२ लाख राजस्व उठाएको थियो । त्यसअघिका तीन वर्ष भन्सारले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । आव २०८०÷८१ मा १२ करोड एक लाख ४७ हजार लक्ष्य रहेकामा १० करोड दुई लाख ४२ हजार संकलन भएको थियो । त्यसैगरी, आव २०७९÷८० मा १६ करोड ९४ लाख ४१ हजार राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले सात करोड ५० लाख ४० हजारमात्रै संकलन गर्न सक्यो ।

आव २०७८÷७९ मा पनि सत्ती भन्सारले राजस्व लक्ष्य हासिल गर्न सकेन । २० करोड ५८ लाख ६१ हजारको लक्ष्य पछ्याएको भन्सार कार्यालयले १० करोड ६७ लाख ९३ हजारमात्र संकलन गर्न सक्यो । १४ करोड २३ लाख ४८ हजारको लक्ष्य आव २०७७÷७८ मा पाएको भन्सारले १५ करोड ८३ लाख सात हजार राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट