काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । पछिल्ला केही दिनदेखि घट्दो क्रममा रहेको सुनको मूल्य एकैदिन १४ हजार ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार भने सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको चाँदी बुधबार ४१५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९२० रुपैयाँ पुगेको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, अमेरिकी डलर मजबुत हुनु तथा लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुनुका कारण नेपाली बजारमा सुनको मूल्यमा असामान्य वृद्धि देखिएको विश्लेषण गरिएको छ ।
मूल्यमा आएको यो वृद्धिले विशेषगरी आगामी लगनको सिजन नजिकिँदै गर्दा उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस