२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इस्लामावादमा अमेरिका–इरान वार्ता सम्पन्न: होर्मुज जलडमरूमध्य र युद्धविराम अझै अन्योलमा

आइतवार , चैत्र २९, २०८२

इस्लामावाद । अमेरिका र इरानबीच विगत छ हप्तादेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित पाकिस्तानको इस्लामावादमा भएको उच्चस्तरीय वार्ता आइतबार बिहान सम्पन्न भएको छ। एक दशकभन्दा लामो समयपछि भएको यो प्रत्यक्ष भेटवार्ता सन् १९७९ को इस्लामिक क्रान्तिपछिकै सबैभन्दा उच्चस्तरीय राजनीतिक संवाद मानिएको छ।

करिब १४ घण्टासम्म चलेको वार्तामा दुवै पक्षका प्राविधिक टोलीबीच दस्ताबेज आदानप्रदान भएको छ । इरानले केही गम्भीर मतभेद कायम रहे पनि वार्ता निरन्तरता दिने जनाएको छ। तर, अर्को बैठक कहिले बस्ने भन्नेबारे अझै स्पष्ट गरिएको छैन।

पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विट्कफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी थिए। इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बाकर कालीबाफ र विदेशमन्त्री अब्बास अराक्चीले नेतृत्व गरेका थिए।

वार्ताका क्रममा वातावरण उतारचढावपूर्ण रहेको र आपसी अविश्वास स्पष्ट देखिएको स्रोतहरूले बताएका छन्। इरानी प्रतिनिधिमण्डलले युद्धमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी लगायतप्रति शोक व्यक्त गर्दै कालो पोसाक लगाएका थिए भने अमेरिकी बमबारीमा मारिएका विद्यार्थीका जुत्ता र झोलाहरू टेबुलमा राखेर विरोध जनाएका थिए।

वार्ताको केन्द्रमा विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति हुने स्ट्रेट अफ होर्मुज जलमार्ग रहेको छ, जसलाई इरानले युद्ध सुरु भएदेखि बन्द गरिदिएको छ। अमेरिकी सेनाले उक्त क्षेत्रमा आफ्ना युद्धपोतहरू आवतजावत गरिरहेको र समुद्री माइन हटाउने तयारी गरेको जनाएको छ, तर इरानले यसलाई अस्वीकार गरेको छ।

इरानले कतार लगायत विदेशी बैंकहरूमा रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्न, युद्धको क्षतिपूर्ति दिन तथा लेबनानसहित क्षेत्रीय स्तरमा पूर्ण युद्धविराम हुनुपर्ने माग राखेको छ।

यता राष्ट्रपति ट्रम्पले भने अन्तर्राष्ट्रिय ढुवानीका लागि जलमार्ग खुला हुनुपर्ने र इरानको आणविक कार्यक्रम पूर्ण रूपमा निस्तेज पार्नुपर्ने अडान दोहोर्‍याएका छन्।

वार्ताका क्रममा इस्लामावादमा सुरक्षा कडा पारिँदै हजारौँ सेना र अर्धसैनिक बल परिचालन गरिएको थियो।

यसैबीच इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध गरिरहेको आक्रमणलाई युद्धविरामको हिस्सा नमान्ने बताएको छ, जसले पश्चिम एसियाको संकट अझ जटिल बन्ने संकेत गरेको छ।

तत्काल ठोस सहमति नभए पनि यस वार्तालाई विश्व बजारमा तेलको मूल्य स्थिरता र हजारौँको ज्यान लिइरहेको युद्ध अन्त्यतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ