काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
पार्टी स्थापना दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालय चावाहिलमा आयोजित झण्डोतोलन कार्यक्रममा अध्यक्ष लिङ्देनले आयोगको प्रारम्भिक प्रतिवेदनले धेरै कुराहरूको उजागर गरेको भन्दै यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्ने बताएका हुन् ।
अभूतपूर्व जनमत प्राप्त गरेर वर्तमान सरकार गठन भएको भन्दै उनले जनताको आशा र विश्वासमा कुठाराघात हुने खालको काम सरकारले गर्न नहुनेमा जोड दिए । यसअघि एकल बहुमत प्राप्त गरेको दलले पाँच बर्ष सरकार चलाइएको इतिहास नरहेकाले विगतको राजनीतिक दलहरूले गरेका कमीकमजोरी दोहराउने सुविधा अहिलेको ठूलो दललाई नरहेको उनले बताए ।
उनले होशियारीपूर्वक जनताको विश्वासलाई साकार पार्ने काममा अगाडि बढ्न सरकारलाई शुभकामना दिए ।
अध्यक्ष लिङ्दनेले गणतन्त्रको करिव दुई दशकमा के पायौ र के गुमायौ भन्ने समिक्षा गर्ने बेला आएको बताए । गणतन्त्रपछि मुलुकमा अर्थतन्त्र मजबुद हुन नसकेको र सुशासन कायम हुन नसकाले देशले जित्ने एउटा नवीन समझदारी गर्न जरुरी भइसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस