२०८३, आषाढ २७ गते

शनिवार, आषाढ २७ गते २०८३

गणेश नेपालीको मृत्युपछि मुगुमा आक्रोश : पाँचबुँदे मागसहित सरकारलाई ज्ञापनपत्र

शनिवार , आषाढ २७, २०८३

मुगु / मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको काठमाडौंमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनको घटनाले कर्णालीभर शोक र आक्रोश फैलिएको छ । घटनापछि मुगुका नागरिक, बुद्धिजीवी, युवा तथा पीडित परिवारका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय मुगुमार्फत नेपाल सरकारलाई पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै पीडित परिवारलाई न्याय, राहत तथा घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

741509884_2492121644566767_6272665588502303557_n.jpg

सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सरकार तथा मुगुका स्थानीय तहहरूलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा गणेश नेपालीको मृत्यु कुनै एक व्यक्तिको निजी दुर्घटना मात्र नभई गरिबी, बेरोजगारी, सामाजिक असुरक्षा र राज्यको दीर्घकालीन बेवास्ताको परिणाम भएको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा गणेश नेपालीको परिवार आर्थिक अभावका कारण विभिन्न जिल्लामा छरिन बाध्य भएको उल्लेख गर्दै आफ्नै जन्मथलोमा सम्मानपूर्वक बाँच्ने आधार नपाउँदा राजधानीसम्म पुगेर निराशाको चरम अवस्थामा आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना हुनु राज्यका लागि गम्भीर आत्मसमीक्षाको विषय भएको जनाइएको छ।

ज्ञापनपत्रमार्फत पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै हुम्लामा रहेका वृद्ध आमा–बुबाको संरक्षण, काठमाडौंमा रहेका श्रीमती र नाबालिग सन्तानको शिक्षा, स्वास्थ्य तथा दीर्घकालीन जीविकोपार्जनको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरिएको छ।

त्यसैगरी, आत्मदाहको घटनामा संलग्न रहेको आरोप लागेका काठमाडौं महानगरपालिकाका नगर प्रहरीमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम आवश्यक कारबाही गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा कर्णालीका युवाहरू रोजगारीको खोजीमा देशका विभिन्न सहर तथा भारत जानुपर्ने बाध्यताको अन्त्य गर्न कृषि, पर्यटन, जडीबुटी, लघुउद्यम तथा प्रविधिमा आधारित स्थानीय रोजगारीका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिएको छ।

यस्तै, विपन्न तथा भूमिहीन परिवारको पहिचान गरी उनीहरूको गास, बास, कपास र रोजगारीको संवैधानिक अधिकार सुनिश्चित गर्न तथा स्थानीय र प्रदेश सरकारको बजेटलाई अनुत्पादक खर्चभन्दा नागरिकको जीवनस्तर सुधार, सीप विकास र दिगो मानव विकासमा केन्द्रित गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

मागप्रति सरकारले समयमै सुनुवाइ नगरे थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिइएको छ।

उक्त ज्ञापनपत्र नागरिक अगुवा रूपबहादुर मल्ल, सचेत नागरिक नरेश शाही तथा पीडित परिवारका सदस्य कुबेर जंग नेपालीलगायतको सहभागितामा जिल्ला प्रशासन कार्यालय मुगुमा बुझाइएको हो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट