काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरू र प्रहरीबीच शनिबार विवाद हुँदा माजिद अन्सारीसहित केही अभियन्ता नियन्त्रणमा परेका छन्। घटनापछि अन्सारी घाइते भएका छन् भने उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना गरिएको छ।
प्रहरीले जेनजी अभियन्ता माजिद अन्सारी, सरिस्मा थापा, मोनिका निरौला र रिया बानियाँलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई केही समय कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको थियो।
घटनापछि अन्सारीले आफूहरूमाथि प्रहरीले कुटपिट र दुव्र्यवहार गरेको आरोप लगाएका छन्। उनका अनुसार नियन्त्रणमा लिने क्रममा प्रहरीले लछारपछार गर्नुका साथै कुटपिट गर्दा नाकबाट रगत बगेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको छ, जहाँ भिडियो एक्स–रेसहित थप स्वास्थ्य परीक्षण भइरहेको छ ।
जेनजी अभियन्ताहरूका अनुसार उनीहरू बाढीका कारण होल्डिङ सेन्टरभित्र प्रभावित सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका थिए। तर, प्रहरीले उनीहरूलाई सेन्टरभित्र प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो ।
अभियन्ता सरिस्मा थापाले आफूहरूलाई कुनै कानुनी आधारबिना प्रवेशमा रोक लगाइएको भन्दै त्यसबारे प्रश्न उठाउँदा प्रहरी आक्रामक बनेको आरोप लगाइन् । उनका अनुसार आफूहरूलाई अपशब्द प्रयोग गर्दै लछारपछार गरिएको थियो भने माजिद अन्सारीमाथि कुटपिट नै भएको हो ।
थापाले होल्डिङ सेन्टरभित्र अर्की अभियन्ता ओजश्वी थापालाई भने प्रवेश गर्न दिइएको भन्दै त्यसबारे प्रश्न गर्दा स्थिति तनावग्रस्त बनेको दाबी गरेकी छन् । उनका अनुसार प्रहरीले आधिकारिक कागजात भएकाले प्रवेश दिएको जवाफ दिएको थियो ।
उता, प्रहरीले भने घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । नियन्त्रण र बल प्रयोगको कारणबारे पनि प्रहरीले विस्तृत विवरण दिएको छैन ।
प्रतिक्रिया दिनुहोस