काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुँगुरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
बझाङबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर महरले दुर्घटनामा चार जनाको मृत्यु भएको जानकारी दिएका छन्। उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर परिचालनको पहल भइरहेको छ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनाग्रस्त बोलेरो जिपमा १५ देखि १६ जना सवार थिए। जिप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ। दुर्घटनामा अन्य यात्रु घाइते भएका छन्। यद्यपि घाइतेको यकिन संख्या र उनीहरूको अवस्था खुलिसकेको छैन।
दुर्घटनालगत्तै सम्बन्धित निकायसँग समन्वय गरी घाइतेहरूको शीघ्र उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको सांसद महरले बताएका छन्। दुर्गम भौगोलिक अवस्था र घटनास्थलसम्म पुग्न कठिनाइ भएकाले हवाई उद्धारको पहल गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर जोराका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनास्थल विकट क्षेत्रमा रहेकाले विस्तृत विवरण संकलन गर्न समय लागिरहेको प्रहरीले जनाएको छ।
केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले स्थानीयवासीसमेत घाइतेहरूको उद्धारमा जुटेको जानकारी दिएका छन्। आवश्यकताअनुसार हवाई उद्धारका लागि पनि समन्वय भइरहेको उनले बताए।
दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी छ। घाइतेको यकिन संख्या, उनीहरूको अवस्था तथा दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस