logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • पर्यटन बोर्डका सीईओ डा.धनञ्जय रेग्मीमाथी नैतिक प्रश्नदेखि आर्थिक अनियमितता गरेको छानविन समितिको निष्कर्ष

    पर्यटन बोर्डका सीईओ डा.धनञ्जय रेग्मीमाथी नैतिक प्रश्नदेखि आर्थिक अनियमितता गरेको छानविन समितिको निष्कर्ष

    2K
    Shares

    काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीमाथि छानविन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाएको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सीईओ रेग्मीमाथि नैतिक प्रश्नदेखि आर्थिक अनियमिततामा मुछिएको निष्कर्ष निकालिएको छ ।

    प्रतिवेदन अनुसार वर्ल्ड टूरिजम मार्टमा सहभागी भएर फर्कंदा त्रिभुवन विमानस्थलमा झगडा गरी जरिवाना समेत तिरेका कारण उनको कसुर पुष्टि भएको घटनालाई नैतिक प्रश्नका रुपमा लिइएको छ । उनको साथमा रहेका रहेका रक्सीको बातल कानूनले तोकेभन्दा बढी रहेको विषयमा समेत प्रश्न उठाइएको छ ।

    यसका साथै २०७४ सालमा सुनको अवैध ओसारपसारमा कारवाही भोगेको घटना लुकाएर बोर्डलाई गुमराहमा राखेको समेत देखिएको छ । यसलाई उनको नैतिक प्रश्नसँग जोडेर प्रतिवेदनमा उल्लेख गरिएको छ । कर्मचारी सरुवाका नाममा अतिरिक्त खर्च सिर्जना गरेको, अन्तर्राष्ट्रिय मेलाहरुमा सहभागी हुँदा कम्तिमा १० जना निजी क्षेत्रका व्यवसायीको सहभागिता सुनिश्चित हुनुपर्नेमा गर्न नसकेको र यसमा बोर्डको निर्देशन नटेरेको देखिएको समेत प्रतिवेदनमा उल्लेख छ ।

    डब्यूटीएममा सहभागी हुँदा निजी क्षेत्रबाट मात्र ६ व्यवसायी सहभागी भएको र खर्च भने १ करोड भन्दा माथि उठेको विषयमा समेत आर्थिक अनियमितताका रुपमा हेरिएको छ । यस्ता मेलामा व्यवसायी आफ्नै खर्चमा जाने गरेका छन् ।

    बोर्डमा सीईओको कार्यकक्ष मर्मत गर्दा कागजात मिलाएर आर्थिक अनियमितता गरेको तथा जियोग्राफिकल इन्फर्मेसन सिस्टम जडानका क्रममा त्रिभुवन विश्वविद्यालयसँग गरेको ४ करोड ७३ लाख रुपैयाँमा समेत छानविन समितिले प्रश्न उठाएको छ । छानविन समितिले यी आर्थिक अनियमितता देखिएको विषयमा अनुसन्धान गरि कारवाही अगाडि बढाउन सिफारिस समेत गरेको छ ।

    २० कात्तिकमा लण्डनबाट फर्कंदा विमानस्थलमा भन्सारका नासुसँग झगडा गरेपछि सीईओ रेग्मी विवादमा मुछिएका हुन् । उनले विमानस्थल भन्सारमा ५ हजार जरिवाना तिरेर छुटेका थिए । बोर्डले २ पुसमा उनीमाथि छानविन गर्न समिति गठन गरेपछि स्वतः निलम्बनमा परेका थिए ।

    पछि उनले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर सीईओका रुपमा काम गरिरहेका छन् । छानविन प्रतिवेदनबारे अध्ययन गरी बोर्डले आवश्यक कदम चाल्न सक्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend