logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्वास्थ्य परीक्षणपछि मात्रै महाधिवेशनकाे बन्दसत्रमा प्रवेश

    स्वास्थ्य परीक्षणपछि मात्रै महाधिवेशनकाे बन्दसत्रमा प्रवेश

    3.8K
    Shares

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो ।

    एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए । कोभिडको समय भएकाले सबै प्रतिनिधिको अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरिने बताउँदै बन्दसत्र हल नजिकै कोरोना परीक्षण गर्ने एन्टिजेन किट तथा अन्य प्रयोगशालासहित फार्मेसी सेवा प्रदान गर्न लागिएको उनले बताए । 

    महाधिवेशनमा भाग लिने प्रतिनिधि रातिको समयमा बिरामी भएको अवस्थामा उनीहरु बसेको होटलमै पुगेर चिकित्सकसहितको स्वास्थ्य प्राविधिक टोलीले उपचार गर्ने पौडेलले बताए । बन्दसत्रस्थल सौराहामा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको उद्धार टोली तयारी अवस्थामा रहने पनि उनले जनाए । त्यहाँ परिचालन भएको चिकित्सकसहितको टोलीले उपचार गर्नेछ र थप उपचार गर्नुपर्ने भएमा  तुरुन्त एम्बुलेन्समा राखेर अस्पताल पुर्याउने व्यवस्थासमेत गरेको पौडेलले बताए ।  बन्दसत्र अवधिमा प्रतिनिधि बस्ने होटल तथा विशिष्ट व्यक्ति बस्ने होटललाई लक्षित गर्दै विशेष एम्बुलेन्ससहितको स्वास्थ्यकर्मी पनि परिचालन गरिएकोउनले बताए ।

    एमाले महाधिवेशनको उद्घाटन सत्रमा हरेक र्यालीसँगै स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन हुने छ । महाधिवेशनका लागि विशेषज्ञ चिकित्सक, नर्स, पारामेडिक्स, फर्मासिस्टसहित ३०० बढी स्वास्थ्यकर्मी परिचालन गरिएको पौडेलले बताए  । त्यस्तै महाधिवेशन उद्घाटनस्थलको छेउमा एउटा र अर्को उद्योग वाणिज्य सङ्घ चितवनको नजिक गरी दुईवटा औषधोपचारस्थल निर्माण गरिएको जनाउँदै पौडेलले नदी किनारमा दुई एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने बताए ।

    एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज दिउँसो नारायणी नदी किनारमा हुने र बन्दसत्र भने शनिबार र आइतबार सौराहाको होटल सेभेन स्टारमा हुने गरी तयारी भएको एमालेले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend