हलिउड अभिनेत्री एन्जेलिना जोलीले केहि समय अघि एउटा विशेष पेन्टिङ बेच्ने बताएकी थिइन्। सो पेन्टिङ पूर्व बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले बनाएका हुन्। चर्चिलले दोस्रो विश्वयुद्ध पछि बनाएको यो एक मात्र पेन्टिङ भएको द आर्ट न्युजपेपरले जनाएको थियो। यस पेन्टिङ एन्जेलिनाका पुर्व पति अभिनेता ब्राड पिटले सन् २०११ मा एन्जेलिनालाई विशेष उपहार स्वरुप दिएका थिए । उनले १ करोड १५ लाख अमेरिकी डलरमा पेन्टिङलाई बेचेकी छिन् ।
द आर्ट न्युजपेपरका अनुसार यो पेन्टिङ लिलामीमार्फत् ३४ लाख अमेरिकी डलरसम्ममा बिक्ने अनुमान गरेको थियो । टावर अफ द कुटुबिया मस्क नाम दिइएको यो पेन्टिङ चर्चिलले मोरोक्कोमा सन् १९४३, जनवरीमा कासाब्लांका कन्फरेन्समा सहभागी भएपछि बनाएका थिए।कन्फरेन्समा चर्चिल र तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांक्लिन रूजबेल्टले नाजी जर्मनीलाई हराउने रणनीतिहरूबारे छलफल गरेका थिए। चर्चिलले यो पेन्टिङ बनाएर रूजबेल्टलाई दिएका थिए।
चर्चिलले दोस्रो विश्वयुद्धताका बनाएको यो एक मात्र पेन्टिङ हो। चर्चिलले युद्धअगाडि मोरोक्कोमा धेरै पेन्टिङ बनाए पनि युद्ध अवधिमा बनाएको यो एक मात्र हो। त्यसैले पनि यो चर्चिलको अहिलेसम्मकै उत्कृष्ट पेन्टिङ मानिन्छ । यो पेन्टिङ मार्च १ मा लिलामी हुने द आर्ट न्युजपेपर जनाएको थियो। एजेन्सी