logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रवासमा निःशुल्क संगीत कक्षा, उत्पादन स्वदेशमा

    प्रवासमा निःशुल्क संगीत कक्षा, उत्पादन स्वदेशमा

    2.4K
    Shares
    प्रवासमा निःशुल्क संगीत कक्षा, उत्पादन स्वदेशमा

    काठमाडौँ । नेपाली संगीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी हुने गरेको सुनिन्छ ।

    तर गायक तथा संगीतकार केशव पौडेलको विषय भने योभन्दा फरक छ । उहाँले अमेरिकामै कैयौँ नेपाली विद्यार्थीलाई निःशुल्क सङ्गीत पढाइरहनुभएको छ । “गीतसंगित त भइहाल्यो, यो नेपाली भाषा सिकाउने उद्देश्य पनि हो । हामीले कक्षामा अंग्रेजी बोल्न दिदैनौँ । यसले नेपाली भाषामा नयाँ पुस्तालाई अभ्यस्त बनाउँछ भन्ने हाम्रो अपेक्षा पनि छ ।

    विगतमा नेपाली भाषाकै लागि त्यहाँ आइपुग्नेले अहिले गीत, संगीतमै आफ्नो भविष्य देख्न थालिसकेका छन् । यो हाम्रा लागि ठूलो खुसीको कुरा पनि हो”, गायक पौडेलले भन्नुभयो । अमेरिकाको ओहायो सहरमा उहाँले गीतसंगीतको कक्षा सञ्चालन गरिरहनुभएको छ भने उहाँका अरु साथीहरुले नृत्य र यससँगै भाषाको पनि कक्षा सञ्चालन गरिरहनुभएको छ । उहाँका अनुसार सात सहरमा रहेका यस्ता कक्षाले नेपालीलाई आकर्षित पनि गरिरहेको छ ।

    सात वर्षका बालबालिकादेखि ६० वर्ष उमेरसम्मका नेपालीहरु कक्षामा सहभागी छन् । उनीहरुले समय व्यवस्थापन गरेका छन् र निकै चाखसित नेपाली गीतसंगीतमा रमाएका छन् । गीतसंगीत मन नपराउने मानिस कमै होलान् । अधिकांशलाई त गीत गाउने, बाजा बजाउने सोख नै हुन्छ, जुन स्वाभाविक पनि हो । अमेरिकास्थित संस्था इन्ट्रा फाउन्डेसनको व्यवस्थापनमा ओहायोमा रहेका नेपालीको यो संगित कक्षा हेर्दा सहभागीहरु नेपालमा अधुरा रहेका सपना अमेरिकामा पूरा गर्ने अवसरका लागि तल्लीन देखिन्छन् ।

    यहाँ समय नभएर या आर्थिक आदि कारणले आफ्नो गीतसंगीतको भोक मेटाउन नसकेकाहरुले अहिले यसमा लागिपरेका छन्, भन्नुहुन्छ पौडेल । “प्रवासमा आएर आफ्नो सपना पूरा गर्ने काममा अगाडि बढ्न पाउँदा सहभागीहरु खुसी मात्र हुनुहुन्न, उहाँहरु यस क्षेत्रको भविष्य पनि देख्ने गर्नुभएको छ । यी कक्षाका विद्यार्थीले गीतसंगीतमा आफूहरु लाग्ने तयारी नै थाल्नुभएको छ । म पनि प्रवासमा आएर आफ्नै पेसाको काममा लाग्न पाउँदा उहाँहरुभन्दा कम खुसी छैन, निकै नै उत्साहित छु”, गायक पौडेलले भन्नुभयो ।

    नेपालमा आफ्ना दुईसहित फुटकररुपमा तयार गरिएका २५ गीतिसंग्रहमा स्वर र सङ्गीत दिइसक्नुभएका गायक पौडेल अमेरिका पुगेर प्राविधिक शिक्षातर्फ आकर्षित हुनुभयो । विसं २०७६ मा अमेरिका पुगेपछि विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस महामारीले केही समय विश्राम लिनु परे पनि पनि गायक पौडेल पछि इन्ट्रा फाउन्डेसनसँग जोडिनुभयो र त्यसयता सङ्गीत सिकाउने शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।

    “म संगीतबाट टाढिन नसकेका सन्दर्भमा त्यही काम पाएँ । प्रवासमा आएर संगीत नै सिकाउन पाउँदाको खुसीलाई साधारण शब्दमा मात्र व्यक्त गर्न म सक्दिन । अहिले यो सामान्य सुनिए पनि केही वर्षपछि यसको नतिजा देखिनेछ कि यसबाट अमेरिकामा पनि धेरै नेपाली कलाकार उत्पादन हुनेछन् र आफ्ना प्रतिभा प्रस्फुटन गरेर देखाउने छन्”, उहाँले भन्नुभयो ।
    रेडियो नेपालमा विसं २०६० मा बालगीत, २०६१ मा उपत्यकाव्यापी बालगीत प्रतियोगिता, २०६६ र ६७ मा जागरण गीत, २०७० मा आधुनिक गीतमा उत्कृष्ट हुनुभएका गायक पौडेले देश छाडेर पनि संगीत छाड्न सक्नुभएको छैन ।

    उहाँले पछिल्लो तीन वर्षमा तीसको हाराहारीमा गीत तयार गर्नुभएको छ । नेपाल आउँदा प्रायः गीत लिएर नै यहाँ आउनुहुन्छ ।
    विविधि कारणले प्रवास जानु परे पनि गीतसंगीतप्रतिको आफ्नो सक्रियतालाई उहाँले घट्न दिनुभएको छैन । यतिखेर पनि उहाँले १० वटा गीत लिएर आउनुभएको थियो उत्पादन गर्न । तर, गीतिसङ्ग्रह नभई एक÷एक गीत सार्वजनिक गर्ने योजना उहाँले बनाउनुभएको छ ।

    गायक पौडेल आफू गीतसंगितमा निरन्तर सक्रिय रहने योजनाअनुरुप नै अघि बढ्नुभएको छ । नेपालमा रहँदा नै गीतसंगीतमा सक्रिय गायक पौडेलले अमेरिकामा रहेका नेपालीलाई दैनिक तीन कक्षामार्फत नेपाली गीतसंगितप्रति आकर्षित गरिरहनुभएको छ । नेपाली गीतसंगीतप्रतिको यो मोह र लगावबाट उहाँले यस क्षेत्रलाई योगदान त दिनुभएकै छ । यसका अतिरिक्त उहाँले पछिल्लो समय नेपाली संगीत उद्योगलाई पनि टेवा दिन थाल्नुभएका रुपमा पनि बुझ्न सकिन्छ ।

    किनभने उहाँ हरेक वर्ष गीत रेकर्डिङ तथा उत्पादनका लागि नेपालमा आउने गर्नुभएको छ । उहाँले यस वर्ष यहाँ आएर ३० वटा गीत उत्पादन गर्नुभयो । यो उहाँको नियमित कार्यक्रम जस्तै बनेको छ । नेपालीहरुले अमेरिकामा गीत या म्युजिक भिडियो उत्पादन गर्न महँगो पर्ने गर्दछ ।

    साथै कतिपय कलाकार यसैका लागि नेपालमै आउने अवसर प्राप्त नगर्न पनि सक्छन् । कलाकारहरुले मान्ने गरेको यो झन्झटलाई गायक पौडेलले दुर गरिदिनुभएको छ । यसबाट सुरुमा सानो ‘भोल्युम’ मा भए पनि नेपाली गीतसंगित उद्योगले व्यवसाय प्राप्त गर्न सकेको छ भन्न सकिन्छ ।

    गायक पौडेलले अमेरिकामा रहेका नेपालीको गीतसंगीत उत्पादनको चाहलाई नेपालमा ल्याएर साकार पारिदिने र यहाँको ‘म्युजिक इन्डस्ट्री’ लाई थोरै भए पनि ‘बिजनेस’ दिने योजना निरन्तर नै रहने योजना बनाउनुभएको छ । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend