logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कप्तान सन्दीपको ६ महिनाका लागि व्यस्त कार्यतालिका

    कप्तान सन्दीपको ६ महिनाका लागि व्यस्त कार्यतालिका

    7K
    Shares

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले स्वदेशी सँगै विदेशी खेलमा पनि आफ्नो पकड जमाएका छन् । कप्तान लामिछाने आगामी ६ महिना व्यस्त हुनेछन्। सन्दीपका लागि राष्ट्रिय टिमको नेतृत्व त छ नै, विदेशी फ्रेञ्चाइज लिगबाट पनि व्यवसायिक करिअर अघि बढाउने छन्। व्यवसायिक करिअरका दौरान सन्दीप ६ महिनाभित्रमा क्यारेबियन क्षेत्रका देशदेखि अस्ट्रेलियासम्म पुग्नेछन्। सन्दीपको नेतृत्वमा नेपालले अर्को साता केन्यामा टी २० सिरिज खेल्नेछन्। त्यसपछि उनी वेस्ट इन्डिजमा दुई वटा फ्रेञ्चाइज लिग खेल्न जानेछन्। सन्दीपको अनुपस्थितिमा केन्याविरूद्धको एकदिवसीय खेलमा रोहित पौडेलले कप्तानी गर्ने बताइएको छ।

    सन्दीपले यो सिजन वेस्ट इन्डिजका दुई फ्रेञ्चाइज लिग खेल्नेछन्। २४ अगस्टदेखि २८ अगस्टमा हुने नयाँ फर्म्याटको ‘द सिक्स्टी’ क्रिकेट खेलेर सन्दीपले सिजनको सुरूवात गर्ने बताईएको छ । ‘द सिक्स्टी’ मा सन्दीप जमैका तलावाजमा आवद्ध भएका थिए। पहिलो संस्करणको यो प्रतियोगिता टी १० शैलीको हो। यो ६० बलको क्रिकेट प्रतियोगिता हो। यस फर्म्याटमा ब्याटिङ गर्ने प्रत्येक टोलीले ६ विकेट लिनेछ। छैटौं विकेट झर्नुको अर्थ अलआउट हुनेछ। एक इनिङ्ग्समा ६० बल हुनेछ। यस ढाँचामा खेलिने ६० बलमध्ये पहिलो ३० बल एक छेउबाट र बाँकी ३० बल अर्को छेउबाट फालिनेछन्। कुनै पनि बलरले दुई ओभरभन्दा बढी बलिङ गर्न पाउने छैनन्।

    ‘‘द सिक्स्टी’ लगत्तै सन्दीपले क्यारेबियन प्रिमियर लिग सिपिएल टी २० क्रिकेट प्रतियोगिता खेल्नेछन्। सिपिएल ३१ अगस्टदेखि ३० सेप्टेम्बरसम्म हुने तय छ। सिपिएलमा सन्दीप जमैका तलावाजमा आवद्ध भएका छन् । सिपिएलपछि नेपाल टी २० लिग हुने तय छ। पहिलो संस्करणको लिग आगामी सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म हुने तय छ। नेपाल टी २० लिगमा सन्दीपले कुन टिमबाट खेल्छन् भन्नेबारे अहिले नै तय भएको छैन।

    नेपाल क्रिकेट संघ क्यान को महत्वाकांक्षी प्रतियोगिताको रूपमा लिएको लिगमा कप्तान सन्दीपले खेल्ने बढी नै सम्भावना छ। यो समय सन्दीपको अरू लिग खेल्ने तालिका पनि छैन। नेपाल टी २० लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुने तय छ। सन्दीप श्रीलंकाको लंका प्रिमियर लिगमा पनि आवद्ध छन्। सन्दीपलाई दम्बुला जाइन्ट्सले टिममा आवद्ध गरेको थियो। अन्तर्राष्ट्रिय डाइमन्ड ए श्रेणीमा रहेका सन्दीपलाई ४० हजार अमेरिकी डलरमा जाइन्ट्सले आफ्नो टिममा आवद्ध गरेको थियो।

    लंका प्रिमियर लिग यसअघि जुलाई अन्तिमदेखि गर्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो। यो लिग सन् २०२२ को अन्त्यसम्ममा गर्ने भनिएको छ। अस्ट्रेलिया र युएईको टी २० लिगअघि अस्ट्रेलियामा टी २० विश्वकप हुने भएकाले त्यो समय भने सन्दीप फुर्सदमा हुनेछन्। यो वर्षको अन्त्यमा सन्दीपले अस्ट्रेलियाको बिग ब्यास लिग बिबिएल खेल्ने सम्भावना छ। सन्दीप लामिछाने सिजन २०२२ र २३ को बिग ब्यास लिग बिबिएल को ड्राफ्टमा समावेश भइसकेका छन्।

    बिबिएलका टिमले आगामी २८ अगस्टमा ड्राफ्ट मार्फत विदेशी खेलाडी आफ्नो टिममा भित्र्याउनेछन्। क्रिकेट अस्ट्रेलियाका अनुसार सन्दीप यसपटक पनि होबार्ट हरिकेन्सले रिटेन गर्न योग्य खेलाडी हुन्। जसका कारण सन्दीपले सिजनको बिबिएल खेल्ने पनि अधिक सम्भावना छ। यता सोमबार मात्र सन्दीप युएईको फ्रेञ्चाइज लिग इन्टरनेसल लिग टी २० आइएल टी २० को मार्की खेलाडीको रूपमा आवद्ध भएका थिए। आइपिएल पछिको बढी पारिश्रमिकका कारण आइएल टी २० क्रिकेटरमाझ आकर्षण बढेको छ। आइएल टी २० मा विदेशी खेलाडीको तलब ५ करोड रुपैयाँसम्म हुने बताइएको छ।

    सन्दीप आइएल टी २० मा कुनै टिममा आबद्ध भने भइसकेका छैनन्। आइएल टी २० आगामी ६ जनावरीदेखि १२ फेब्रुअरीसम्म हुने बताइएको छ। यही समयमा अस्ट्रेलियाको बिबिएल पनि हुने भएकाले खेलाडीले दुवै लिग खेल्ने सम्भावना भने छैन।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend