logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • माओवादी कमजोर भए प्राप्त उपलब्धी गुम्न सक्छः अध्यक्ष प्रचण्ड

    माओवादी कमजोर भए प्राप्त उपलब्धी गुम्न सक्छः अध्यक्ष प्रचण्ड

    14.4K
    Shares
    माओवादी कमजोर भए प्राप्त उपलब्धी गुम्न सक्छः अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

    माओवादीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको आठौँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध र जनआन्दोलनका बलमा स्थापित संविधान, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिमाथि निरन्तर प्रहार भएको भन्दै त्यसलाई जोगाउन पनि माओवादी बलियो हुनैपर्ने बताए ।

    गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिकरूपमा केही प्राविधिक विषय मिलाउन नसक्दा वामपन्थी शक्तिहरूमा पहिलो हुने अवसर गुमेको भन्दै उनले त्यसबाट र गठबन्धनका दलबीचको सहकार्यबाट समेत शिक्षा लिएर आगामी निर्वाचनमा झनै प्रतिबद्ध भएर लाग्न सबैलाई आग्रह गरे ।

    उनले पार्टीको नीति र विधिविपरीत गएर व्यक्ति केन्द्रित गतिविधि नगर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराए । उनले भने, “पार्टीले निर्णय गरिसकेपछि त्यो व्यक्ति हुँदैन, पार्टी हुन्छ, त्यहाँ व्यक्ति हार्दैन, पार्टीले हार्छ । त्यो विषयलाई गम्भीरताका साथ लिन म सबैलाई आग्रह गर्दछु ।”

    माओवादी आन्दोलन वा कम्युनिष्टको सार्थक प्रयास नभएको भए सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक लोकतन्त्र पनि स्थापित हुन नसक्ने तथ्यलाई सबैले आत्मसात् गरेको खण्डमा खासरूपमा पोष्टबहादुर बोगटीप्रति सच्चा सम्मान हुने उनको भनाइ छ ।

    उनले भने, “माओवादी कमजोर भयो वा जनतासँगको सम्बन्ध सुदृढ हुन सकेन भने जनयुद्धबाट प्राप्त भएको परिवर्तन उल्टन सक्छ । गत साल त्यस्तै खालको तितो र नमिठो अवस्थाको अनुभव गर्न पायौँ ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend