logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • पोखरा पुगेर फ्रान्सेली विज्ञ टोलीले सुरु गर्‍यो स्थलगत अध्ययन

    पोखरा पुगेर फ्रान्सेली विज्ञ टोलीले सुरु गर्‍यो स्थलगत अध्ययन

    3.4K
    Shares
    पोखरा पुगेर फ्रान्सेली विज्ञ टोलीले सुरु गर्‍यो स्थलगत अध्ययन

    पोखरा । फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ । बुधबार विमान खसेको ठाउँ सेतीखोँचमा पुगी उक्त टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै दुर्घटनाबारे जानकारी लिएको हो ।

    टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहजीकरण गरिरहेका छन् । ‘ड्रोन’समेत उडाएर टोलीले घटनास्थलको अवलोकन गरेको थियो ।

    दुर्घटनाको अध्ययनका लागि नौ सदस्यीय टोली मङ्गलबार नै पोखरा आइपुगेको थियो । नेपालमा पहिलोपटक भएको एटीआर विमान दुर्घटनाबारे निर्माता कम्पनीले पनि चासोपूर्वक लिएको जनाइएको छ ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विदेशी विज्ञ टोलीले अध्ययन गरिरहेकोबारे सम्बन्धित निकायबाट जानकारी पाएको भए पनि आफूलाई यो विषयमा धेरै थाहा नभएको बताए ।

    ‘दुर्घटनापछि खोज, उद्धार, शव व्यवस्थापनलगायतमा सुरक्षा निकाय खटिन्छ, जाँच तथा छानविनको विषय हामीसँग सम्बन्धित हुँदैन’, उनले भने । विमान दुर्घटनापछि सरकार गठन गरेको जाँच आयोगलेसमेत दुर्घटनाबारे छानविन सुरु गरेको छ ।

    अध्ययन सकेर केही सदस्य काठमाडौँ फर्किसकेको केही अझै पोखरामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए। पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा जाँच आयोग गठन भएको थियो ।

    आयोग सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा र हवाई मर्मत विज्ञ एकराजजङ्ग थापा रहेका छन् । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

    यसअघि सोमबार विमानको ‘ब्ल्याक बक्स’ फेला परेको थियो । ‘ब्ल्याक बक्स’ले दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण सहयोग पुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    ६८ यात्रु र चार जना चालकदलका सदस्य लिएर गत आइतबार काठमाडौँबाट पोखराका लागि उडेको विमान सेतीँखोचमा खसेको थियो । दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ भने बेपत्ता एक जनाको खोजी कार्य जारी रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend