logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • मुगुमा भवन निर्माण नहुँदा कैदीबन्दी राख्न समस्या

    मुगुमा भवन निर्माण नहुँदा कैदीबन्दी राख्न समस्या

    1.5K
    Shares
    मुगुमा भवन निर्माण नहुँदा कैदीबन्दी राख्न समस्या

    मुगु । मुगुमा कारागार भवन निर्माण नहुँदा यहाँका कैदीबन्दी अरु जिल्लामा लगेर राख्नुपर्ने बाध्यता छ ।

    सदरमुकाम गमगढीस्थित थापाल चौरमा कारागार भवन नौ वर्षअघि निर्माण सुरु गरिएको भए पनि अझै पूरा हुन सकेको छैन । विसं २०७१ मा रु तीन करोड ५० लाखमा भवन निर्माणको काम थालिएको हो । भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको हो ।

    भवन निर्माणको झन्डै ९० प्रतिशत काम पूरा भए पनि घेरबार, सुरक्षा पोष्टलगायत काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन । असी पुरुष र २० महिला अट्ने क्षमताको उक्त कारागार भवन बने कैदीबन्दीलाई अरु जिल्ला लैजाने अवस्थाको अन्त्य हुने छ ।

    पूरानो कारागार भवन प्रयोगविहीन भएपछि दुई वर्षअघि त्यसलाई कोरोना सङ्क्रमित राख्न प्रयोग गरिएको थियो । कारागार नै निर्माण नभएपछि कैदीबन्दीलाई मुगुबाट जुम्ला, बर्दिया, सुर्खेत, कालीकोट, बाँके र दाङ लैजानुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मुद्दाको फैसला नहुँदासम्म कैदीबन्दीलाई प्रहरीको हिरासतमा राख्ने गरिए पनि फैसलापछि अरु जिल्लामा पठाउनुपर्ने बाध्यता छ । कैदीबन्दीलाई जिल्ला बाहिर चलानी गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि उत्तिकै सास्ती हुने गरेको छ । कैदीबन्दी अरु जिल्ला लगेर राख्दा आफन्तलाई भेट्न समस्या हुने गरेको छ । छायानाथ रारा नगरपालिकाका ७१ वर्षीय सिंहबहादुर मल्लले छोरो जुम्ला कारगारमा रहेकाले नौ वर्षदेखि भेट्न नपाएको बताउँछन् ।

    कैदीबन्दी अन्य जिल्ला पु¥याउँदा कम्तीमा रु ५० हजारसम्म खर्च हुने गरेको प्रहरीले जनाएको छ । मुगुबाट बर्सेनि झण्डै २० कैदीबन्दीलाई जिल्ला बाहिर पठाउनुपर्छ । आव २०७६/७७ मा २१, आव २०७७/७८ मा १२ र आव २०७८/७९ मा १९ कैदीबन्दीलाई जिल्लाबाहिर पठाइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend