logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान

    राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान

    2.6K
    Shares
    राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान

    वासिङ्टन डिसी । युक्रेनमाथि रुसले गरेकोे आक्रमणको निन्दा गर्दै युद्ध रोक्न आह्वान गरिएको राष्ट्रसङ्घीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बिहीबार भएको आकस्मिक विशेष साधारणसभामा भाग लिँदै नेपालले युक्रेनका पक्षमा मतदान गरेको हो । राष्ट्रसङ्घको कूल एक सय ९३ देशमध्ये एक सय ४१ देशले युक्रेनका पक्षमा मतदान गरेका थिए । साधारणसभाले पारित गरेको प्रस्तावमा रुसलाई सैन्य फिर्ता गर्न आग्रह गर्दै युद्ध रोक्न अपिल गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रमुख राजदूत अमृत राईले भने, “युक्रेनका पक्षमा मतदान भन्नुको अर्थ नेपाल युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता र सम्प्रभुताको पक्षमा उभिएको हो । हामीले प्रस्तावका पक्षमा संवाद र कूटनीतिमा जोड दिँदै युक्रेनमा शान्ति स्थापनाको मार्ग पहिल्याउन अनुरोध गरेका हौँ ।”

    रुसले एक वर्षअघिदेखि युक्रेनमा आक्रमण गरेकाले विश्वव्यापीरुपमा आपूर्तिमा समस्या हुनाका साथै खाद्य असुरक्षा र मुद्रास्फीति वृद्धिका कारण गरिबी बढेकामा राष्ट्रसङ्घले चिन्ता व्यक्त गर्दै आएको छ । सन् २०२२ फेबु्रअरी २४ मा रुसले युक्रेनमाथि अमानवीयरुपमा आक्रमण गरेको थियो । यसमा हजारौंको हताहती भएको बताइए पनि कतिले ज्यान गुमाए भन्ने यकीन तथ्याङ्क भने छैन । राष्ट्रसङ्घको प्रस्तावका विपक्षमा मतदान गर्ने देशमा बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुवा, रसिया र सिरिया छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend