logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधानको मर्म विपरितः सांसद भट्टराई

    एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधानको मर्म विपरितः सांसद भट्टराई

    1.9K
    Shares
    एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधानको मर्म विपरितः सांसद भट्टराई

    काठमाडौं । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिनेकुरा संविधानको मर्म विपरित भएको बताएकी छन् । शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले आमाको नामबाट नागरिकता पाउने कुरा संविधानले नै स्वीकार गरेको अवस्थामा एकल महिलाको सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधान विपरित भएको बताएकी हुन् ।

    उनले मावलीको थरबाट सन्तानलाई नागरिकता दिने कुराले आमाको अस्तित्वलाई अस्वीकार गरेको पुष्टि हुने बताइन् । संविधान र कानूनले स्थापित गरेको विषयलाई गृह मन्त्रालयको परिपत्रले खण्डन गरेको उनले बताइन् ।

    उनले भनिन्– ‘एकल महिलाको अस्तित्वको कुरा, पहिचानको कुरा छ । जुन कुरा संविधानले नै हामीलाई आमाको नामबाट, वा बाबुको नामबाट नागरिकता पाउने कुरालाई संविधानले नै स्वीकार गरेको छ । संविधानले स्वीकार गरेको संविधानको मर्म अनुसार देवानी संहीतामा पनि पास गरिसकेका छौँ । भनेपछि अहिले कानून र संविधान भन्दा विपरित ढंगले मावली भनेर जुन शब्द राखियो, त्यो शब्दले आमा भन्ने कुरालाई नै अस्तित्वलाई मानेन भन्ने मेरो कुरा हो । संविधानमा हामीले धेरैपटक वहस गर्यौँ । महिलाको अस्तित्वसहितको हकलाई कसरी हामीले संरक्षण गर्ने ? महिलाको हकलाई हामीले कसरी स्थापित गर्दै लैजाने भन्ने त हिजो संविधानसभाको प्रमुख विषय थियो । संविधानसभामा व्यापक छलफल भएको कुरा आज आएर फेरि एउटा परिपत्रबाट संविधान र कानूनले स्थापित गरेको विषयलाई परिपत्रले खण्डन गरेजस्तो लाग्यो । बच्चाको पहिचान आमाको नामबाट दिन सकियो । मामाघर संस्थागत गर्न खोजियो । महिलाको एकल पहिचानको कुरा हो नि त यो उठाएको त । एकल पहिचानको कुरालाई संस्थागत गर्न खोजियो । त्यो पितृत्वसँग नै जोडियो । मावली भन्ने बित्तिकै मामाघर भन्ने हुन्छ । मामाघर पितृत्वसँग जोडियो । संविधानले पितृत्व र मातृत्व एउटै हो भन्ने व्याख्या गरेको छ । त्यो कुरालाई यसले खण्डन ग¥यो । यो गलत छ । यसलाई पुनः परिपत्र गर्नुपर्छ । संहीता र संविधानले जे कुरा उल्लेख गरेको छ, त्यसको आधारमा परिपत्र गर्नुपर्छ । पुनः परिपत्र गर्नुपर्छ भन्ने हो मेरो धारणा ।’

    सांसद भट्टराईले गृहले संहीता र संविधानमा उल्लेख भए अनुसार आमाको नाम, थरमा नागरिकता दिनेगरी पुनः परिपत्र गर्नुपर्ने धारणा राखिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend