logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

    राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

    2.3K
    Shares
    राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

    बाँके । बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन् ।

    राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा भत्किएको तटबन्धन वर्षा सुरु हुन लाग्दासमेत निर्माण नभएपछि स्थानीयवासी डुबानको त्रासमा बस्न बाध्य भएको स्थानीयवासी दुर्गाप्रसाद पाण्डेले बताए ।

    उनका अनुसार बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पुर्‍याएको छ । तटबन्धनमा पुगेको क्षतिलाई तत्काल मर्मत गरिनुपर्ने र अस्थायी तटबन्धन निर्माण गरिनुपर्ने माग गर्दै आए पनि निर्माण हुनसकेको छैन ।

    भत्किएको तटबन्धन तत्काल मर्मत नगरिए त्यस आसपासका छ गाउँ डुबानमा पर्ने लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए । उनले भने, ‘भत्किएको तटबन्धन तत्काल मर्मत गर्नुपर्छ ।’

    बस्ती जोगाउन निर्माण भएको तटबन्धन भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ र ७ मा रहेका बस्तीमा क्षति हुने अवस्था आएको ७ नं वडाध्यक्ष रामलखन थारूले बताए ।

    उनका अनुसार विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको राप्तीनदीको पुरानो तटबन्ध भत्किएका कारण राप्तीनदी बस्तीमा पस्ने खतरा रहेको छ । नदी बस्तीमा पस्नासाथ नरैनापुरमा बनेको बाँध भत्किनेर ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ अतिप्रभावित हुने भएकाले स्थानीय त्रसित रहेका छन् ।

    यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्धलगायत सरोकारवाला निकायमा बारम्वार जानकारी गराए पनि मर्मतसम्भारको पहल नभएको उनले गुनासो छ ।

    राप्ती सोनारी–७ फत्तेपुर र नरैनापुर–६ मा भत्केको राप्तीको तटबन्ध तत्काल मर्मत नभए वर्षात्मा ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित रहेको यहाँका स्थानीय जनप्रतिनिधि बताउँछन् । वर्षा अगाडि तटबन्ध मर्मत नभएमा ठूलो जनधनको क्षति हुनुका साथै संघीय सरकारले लगानी गरेको अर्बौँको लगानी पनि डुब्ने नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए ।

    नरैनापुर–६ मा करिब डेढ सय मिटर क्षेत्रमात्रै तटबन्ध मर्मत गर्नुपर्ने देखिएको छ । तटबन्धन मर्मत नभए सोनवर्षा गाउँ डुब्ने डर रहेको उनको भनाइ छ । राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धनमा २०७९ असोज महिनामा आएको बाढीले क्षति पुर्‍याएको थियो ।

    भत्किएको तटबन्धन निर्माणका लागि गाउँपालिका अध्यक्ष, प्रदेश र सङ्घीय सांसदहरूले पटक–पटक निरीक्षण तथा अवलोकन गरे पनि काम सुरु हुनसकेको छैन । सांसद सूर्य ढकालले राप्ती नदीको तटबन्धनको विषयमा आफूले सदनमा समेत कुरा उठाएको बताए।

    तत्कालका लागि भत्किएको तटबन्धन निर्माण गर्ने र अन्य स्थानमा पनि नियमितरूपमा तटबन्धनको काम सुरु गर्न आफूले सङ्घीय सरकारमा पहल गरिरहेको उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend