logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गर्ने वातावरण बनाइनुपर्छ: राप्रपा

    भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गर्ने वातावरण बनाइनुपर्छ: राप्रपा

    1.4K
    Shares
    भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गर्ने वातावरण बनाइनुपर्छ: राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण छानविनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाईदिन नेपाल सरकारसँग माग गरेको छ ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाई दिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गरेका छन् ।

    सो प्रकरणमा मुछिएकाहरुले प्रहरीको अनुसन्धानमाथि नै प्रभाव पार्ने खालका गतिविधि गरिरहेका समाचार आईरहेका बेला उनले आईतबार आफ्नै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै नेपाल प्रहरीले राम्रो काम गरिरहेकाले त्यसलाई स्वतन्त्रतापूर्वक अघि बढ्न दिनुपर्ने स्पष्ट पारे ।

    अध्यक्ष लिङदेनले सो प्रकरणमा संलग्नहरु ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरु कसैले पनि उन्मुक्ति पाउन नहुने दोहोर्‍याए । उनले सो प्रकरणलाई शिथिल, कमजोर र फासफुस बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए ।

    अध्यक्ष लिङदेनले भने, ‘कुनै पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनु हुँदैन । अहिले खासगरी पछिल्लो समयमा प्रहरीले असाध्यै राम्रो काम गरिराखेको छ । उसलाई काम गर्न दिऊ । र, अहिले सरकारसँग पनि र नागरिक समाजसँग र सञ्चार जगतसँग हाम्रो आग्रह छ–स्वतन्त्रतापूर्वक, निष्पक्षतापूर्वक प्रहरीलाई काम गर्ने वातावरण दिऊ । मलाई लाग्छ–ढिलोचाँडो यी सबै मानिसहरु तानिन्छन् । तानिनुपर्छ । कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । भोली बोलाइएको केन्द्रिय कार्य समिति बैठकमा खासगरी समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल हुनेछ । संगठनको भावी दिशाको बारेमा पनि छलफल गर्नेछौं । मूलरुपमा यही विषयमा छलफल केन्द्रित हुन्छ । हामीले यही जेठ ४ गते दिनको एक बजे बसन्तपुरमा खासगरी नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर जुन प्रकरण सृजना गरियो । र, अहिले त्यसको छानविन भईराखेको छ । त्यो सशक्त रुपमा अगाडि बढोस् । र, त्यसलाई कुनै पनि बहानामा, कुनै पनि तर्कमा शिथिल, कमजोर र फासफुस बनाउने काम हुनुहुँदैन भनेर खवरदारी गर्ने र यो नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन, अन्य सबै प्रकारका भ्रष्टाचार र भ्रष्टाचारीहरुको विरुद्ध खवरदारी गर्न सो आमसभा गर्न लागेका छौं ।’

    राष्ट्रिय प्रजातन्त्र पार्टीले सो प्रकरणको बिरोधमा यही जेठ ४ गते काठमाडौंको बसन्तपुरमा खबरदारी सभा गर्ने भएको छ ।

    सो प्रकरण र मुलुकमा विद्यमान भ्रष्टाचार र भ्रष्टाचारीहरुको बिरोधमा खवरदारी सभा गर्न लागिएको पनि अध्यक्ष लिङदेनले बताए ।

    यसैबीच, राप्रपाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्न जेठ १ गते सोमबार (भोलि) पार्टी केन्द्रीय कार्य समितिको बैठक समेत आह्वान गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend