logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • साहित्यकार रसिक ‘सांसक पुरस्कार’ बाट सम्मानित

    साहित्यकार रसिक ‘सांसक पुरस्कार’ बाट सम्मानित

    2.3K
    Shares
    साहित्यकार रसिक ‘सांसक पुरस्कार’ बाट सम्मानित

    झापा । अग्रज साहित्यकार तथा सङ्गीतकार गणेश रसिकलाई झापामा आज साहित्य, संस्कृति तथा कला (सासंक) पुरस्कारबाट सम्मानित गरिएको छ ।

    सासंक प्रतिष्ठान झापाले नेपाली साहित्य, सङ्गीत र कलाको उत्थानमा अतुलनीय योगदान पुर्‍याएवापत उनलाई २५ हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको छ ।

    सम्मानित साहित्यकार रसिकले अहिले लोकसङ्गीत खस्किँदै गएकामा चिन्ता प्रकट गरे। उनले नयाँ पुस्ताका कलाकारलाई धैर्य, खोज र गम्भीरताका साथ लोकभाका, लोकनृत्य र लोकबाजाको संरक्षणमा जुट्न आह्वान गरे ।

    साहित्यकार एवं इतिहासकार युद्धप्रसाद वैद्यले सम्मानित सर्जक गणेश रसिक बहुआयामिक व्यक्तित्वका धनी र मुलुकको भाषा, संस्कृति र साहित्यलाई अति माया गर्ने योद्धा भएको बताए ।

    इलामको सूर्योदयस्थित फिक्कल निवासी ७६ वर्षीय साहित्यकार गणेश रसिकको पूरा नाम गणेशकुमार राई हो । उनको जन्म विसं २००४ असोज ४ गते भोजपुरको छिनामखु–५ नौलागाउँमा भएको थियो । उनी बसाइँ सरेर इलाम आएका हुन् ।

    इलाममा आएपछि विष्णु नवीनलगायतका साहित्यकारको सङ्गतमा रहेर उनी साहित्य र सङ्गीतको साधनामा लागेका अग्रज पत्रकार चन्द्र भण्डारी बताउँछन् । उनका दशगजामा उभिएर, छपक्कै मनमा बसेका, ताराभन्दा सपना धेरै, मुनिया र उसको छोरो, आकाशगङ्गाको ओतमुनि, पेरुङ्गोलगायतका कृतिहरू प्रकाशित छन् ।

    सङ्गीत क्षेत्रमा समेत उनको योगदान छ । रत्न रेकर्डिङ, सांस्कृतिक संस्थान, साझा प्रकाशनलगायतका संस्थामा अध्यक्ष रहेर उनले मुलुकको सङ्गीत र साहित्य क्षेत्रको जगेर्नामा योगदान पुर्‍याए ।

    विसं २०३२ मा रेडियो नेपालबाट उत्कृष्ट गीतकारका रूपमा सम्मानित उनका तीन सयभन्दा बढी आधुनिक, लोक, स्वदेश गानलगायतका गीत रेकर्डिङ भइसकेको सङ्गीतकार टीका भण्डारी बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend