logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • प्रचण्डको उत्तराधिकारी तयार गर्ने बेला भइसक्योः वर्षमान र जनार्दन

    प्रचण्डको उत्तराधिकारी तयार गर्ने बेला भइसक्योः वर्षमान र जनार्दन

    2.2K
    Shares
    प्रचण्डको उत्तराधिकारी तयार गर्ने बेला भइसक्योः वर्षमान र जनार्दन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जन पक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताएका छन् ।

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्दै उनले सरकारबाट राम्रो कामको थालनी भएको र यसमा सबैको साथ र समर्थन जरुरी रहेको बताए ।

    ‘भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नुपर्छ । यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ ।’

    पार्टी पुनः निर्माणको ऐतिहासिक सम्भावना रहेको रहेको उनले पार्टीलाई रूपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए । उनले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राखे । वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षका रूप फेरिएको उल्लेख गर्दै उपमहासचिव पुनले अहिलेको मूल मोर्चा सरकार भएको स्पष्ट पारे ।

    ‘अहिलेको समस्या विचारभन्दा विधिको हो । विधान सम्मेलनबाट यसलाई हल गरौँ । उत्तराधिकारी तयार पार्ने विधिमा जाऔँ’, उनले भने, ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु ।’

    अर्का उपमहासचिव जनार्दन शर्माले सरकारले थालनी गरेका सुशासनसम्बन्धी काममा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारे । पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदा अध्यक्षलाई असहयोग गरेको भनेर प्रचार गरिएको भन्दै उनले गुनासो गरे ।

    पार्टीलाई जनतासँग जोड्नुपर्ने, पार्टी पङ्क्ति उत्पादनमा होमिनुपर्ने, भौगोलिक र पर्यावरणीय, जातीय तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरेर आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना र आत्मनिर्भरताका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिए ।

    उनले भने, ‘पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने सङ्कल्प गर्नुपर्छ । नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ । समावेशी प्रतिनिधित्वका लागि सम्बन्धित ‘क्लष्टर’मा निर्वाचन गर्नुपर्छ ।’

    उपमहासचिव शर्माले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एक तिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्नेमा जोड दिए ।

    ‘पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ’, उनले भने ।

    पार्टीलाई पूर्णतः डिजिटल बनाइनुपर्ने, डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्नेमा पनि उनले जोड दिँदै उत्तराधिकारीको लामबन्दी तयार गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend