logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • विमानस्थल भन्सार कार्यालयद्धारा दसैँमा विदेशबाट नेपाल फर्कदा यात्रुले ल्याउन पाउने वस्तुहरुको सूची सार्वजनिक

    विमानस्थल भन्सार कार्यालयद्धारा दसैँमा विदेशबाट नेपाल फर्कदा यात्रुले ल्याउन पाउने वस्तुहरुको सूची सार्वजनिक

    15.6K
    Shares
    विमानस्थल भन्सार कार्यालयद्धारा दसैँमा विदेशबाट नेपाल फर्कदा यात्रुले ल्याउन पाउने वस्तुहरुको सूची सार्वजनिक

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दसैँमा विदेशबाट नेपाल फर्कदा यात्रुले ल्याउन पाउने वस्तुहरुको सूची सार्वजनिक गरेको छ । विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारीमा गएका नेपालीले घर फर्कदा ल्याउन मिल्ने र नमिल्ने वस्तुको सूची निकालेको हो ।

    भन्सार कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले साथमा निश्चित परिमाणमा सुनका गहना, मोबाइल तथा टेलिभिजन ल्याउन पाउँछन् ।

    कति सुन ल्याउन पाइन्छ ?

    कार्यालयका अनुसार घर फर्कँदा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुनको गहनामा भन्सार नतिरी ल्याउन छुट दिइएको छ । यस्तै, एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर ल्याउन पाउने व्यवस्था छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिने कानुनी व्यवस्था रहेको छ ।

    थप एक थान मोबाइल

    यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नपर्छ ।

    टेलिभिजनमा यस्तो छ व्यवस्था

    श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ ।

    यसैगरी ५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ ।

    कार्यालयले दसैँ, तिहार तथा छठमा विदेशबाट आउने यात्रुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएका सामान मात्रै ल्याउन अनुरोध गरेको छ । कानुनले छुट दिएका बाहेकका सामान ल्याउँदै नल्याउन कार्यालयले वैदेशिक रोजगारीमा गएकाहरूलाई अनुरोध गरेको छ ।

    पछिल्लो समय वैदेशिक रोजगारीबाट नेपाल फर्कँदा अपरिचित व्यक्तिले विभिन्न सामान प्रलोभनमा पठाउने गरेको पाइएको भन्दै कार्यालयले त्यसप्रति सचेत रहन पनि आग्रह गरेको छ ।

    यात्रुहरूले कानुनी व्यवस्था विपरीत सामान ल्याएमा माल वस्तु जफत हुने र सोको दोब्बर मूल्य बराबर जरिवाना तथा कैद सजाय समेत हुने व्यवस्था छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend