logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    ओरालो यात्रामा अमेरिकी डलर, नेपाली रुपैयाँ बलियो हुँदै!

    ओरालो यात्रामा अमेरिकी डलर, नेपाली रुपैयाँ बलियो हुँदै!

    12.5K
    Shares
    ओरालो यात्रामा अमेरिकी डलर, नेपाली रुपैयाँ बलियो हुँदै!

    काठमाडौं, २० माघ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलरले ओरालो यात्रा तय गरेको छ । डलर महंगिएर १ सय ३४ रुपैयाँ नजिक पुगेकोमा विस्तारै घट्न थालेको छ ।

    शनिबार १ डलर बराबर बिक्री मूल्य १ सय ३२.९८ रुपैयाँ तय भएको छ । डलर बढेर १ सय ३३ रुपैयाँ भन्दा बढी बसेको लामो समयपछि घट्न थालेको छ । असोजदेखि डलरको भाउ १३३ रुपैयाँबाट तल झरेको छैन् ।

    भारतीय मुद्रा (भारु) बलियो भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । शनिबार १ डलर बराबर ८३ भारु कायम भएको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ । भारु मजवुत र डलर कमजोर बन्दा नेपाली रुपैयाँको पनि बलियो भएको हो । यद्यपि डलरले फेरी उकालो यात्रा तय गर्ने संभावना पनि छ ।

    भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि मजवुत हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ ।

    नेपाल र भारतमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदा अन्य स्थानीय मुद्राहरु कमजोर बन्दै गएका छन्। विश्वमा ८० प्रतिशत भन्दा बढी व्यापार डलरमा हुने गरेको छ ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले निरन्तर ब्याजदर बढाएपछि भारतजस्ता उदियमान मुलुकहरुबाट डलरमा भएको लगानी फिर्ता गइरहेको थियो । डलर सञ्चिती घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन पुगेको थियो । यस्तै पछिल्लो समयमा उन्नत अर्थतन्त्र जर्मनी पनि मन्दीउन्मुख भएपछि विश्वबजारमा डलरको ग्राफ उकालो लाग्दै गएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा २०८० मंसिर मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०१ प्रतिशत अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.१४ प्रतिशतले अवमूल्यन भएको थियो ।

    अमेरिकामा ब्याजदर बढेर पहिलो पटक ५ प्रतिशत माथि पुगेको छ । उदीयमान अर्थतन्त्रबाट अमेरिकातिर लगानी प्रवाह होउन्जेल विश्वबजारमा डलर महँगो भइ रहनेछ । आगामी तीन आर्थिक वर्षमा अमेरिकी डलर बलियो भई नेपाली रुपैयाँ झनै कमजोर हुने देखिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाले डलरको मूल्य बढेर नयाँ कीर्तिमान राख्ने प्रक्षेपण सार्वजनिक गरेको छ । यही बाटोमा डलर रहेको देखिन्छ ।

    आयोगको मध्यकालीन खर्च संरचनाको अन्तिम आर्थिक वर्ष २०८२/८३ मा १ डलर बराबर १ सय ३६ रुपैयाँ ९ पैसा पुग्ने अनुमान छ । सन् २०१७/१८ मा १ डलर बराबर औसत १ सय ४ रुपैयाँ थियो । त्यसपछि लगातार बढ्दै गएको छ ।

    डलर कमजोर हुँदा दैनिक उपभोग्य वस्तुको भाउ कम हुन्छ । गत मंसिरमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । डलर बलियो हुँदा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ ।

    रूस–युक्रेन युद्ध र पछिल्लो समयमा इजरायलले गाजामा गरेको आक्रामणका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको थियो । डलर मजबुत भएपछि भारु कमजोर हुँदै गएको छ ।

    अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । पेट्रोलियम पदार्थको मूल्य पनि अस्थिर छ ।

    डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्राको सञ्चिति वृद्धिमा थप सघाउ पुग्नेछ । डलर महंगो भएपछि रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशत बढेको छ । डलर सञ्चिती बढेर नयाँ रेकर्ड कायम भएको छ । केन्द्रीय बैंकका अनुसार विदेशी विनिमय सञ्चिती १३ अर्ब ३१ करोड डलर पुगेको छ।

    पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । वस्तु निर्यात गर्ने उद्योगी र पर्यटन व्यवसायीलाई फाइदा हुन्छ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाएमा उद्योगीले बढी नाफा कमाउने अवसर पाउनेछन् ।

    डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ। डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । बहुराष्ट्रिय कम्पनीहरुले नेपालबाट लाभांश फिर्ता लैजाँदा र सरकारले लिएको ऋण तिर्नुपर्ने दायित्व बढी हुन्छ । घट्दा डलरमा विदेशिने रकम कम हुन्छ ।

    यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ । डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा अतिरिक्त भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढेको छ ।

    यसैगरी विदेशी कम्पनीहरूले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई डलरको भाउ बढेपछि असर पर्नेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend