logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • विद्युत प्राधिकरणको ६ महिनामा नाफा १५ अर्ब ३६ करोड

    विद्युत प्राधिकरणको ६ महिनामा नाफा १५ अर्ब ३६ करोड

    3.5K
    Shares
    विद्युत प्राधिकरणको ६ महिनामा नाफा १५ अर्ब ३६ करोड

    काठमाडौं । प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारीमा लागेको नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष ०८०/०८१को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

    प्राधिकरणको चालू आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा कूल ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश  : विद्युत बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ ।

    प्राधिकरणले गत आर्थिक वर्ष २०७९/०८०को सोही अवाधिमा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो । एक वर्षको अवधिमा प्राधिकरणको नाफा झण्डै ५ अर्ब रुपैयाँ बढेको छ ।

    गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो।

    २०७२/०७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

    ‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौं, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनाहरुमा हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेका छौं’,कार्यकारी निर्देशक घिसिङले भने  ‘विद्युतमा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुमा आगामी वर्षहरुमा १०/१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्छ, नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र पुग्दैन ।’

    प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ ।

    प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend