logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • साढे ६ अर्ब लगानीमा लिखु खोला जलविद्युत आयोजना बनाउँदै अरुण भ्याली

    साढे ६ अर्ब लगानीमा लिखु खोला जलविद्युत आयोजना बनाउँदै अरुण भ्याली

    1.2K
    Shares
    साढे ६ अर्ब लगानीमा लिखु खोला जलविद्युत आयोजना बनाउँदै अरुण भ्याली

    काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना बनाउने भएको छ । पिके हाइड्रोपावर लिमिटेडमार्फत अरुण भ्यालीले सो आयोजना बनाउन लागेको हो । पिके हाइड्रोपावरमा अरुण भ्यालीको ५१ प्रतिशत स्वामित्व छ ।

    लिखु खोला जलविद्युत आयोजना बनाउन ६ अर्ब ५८ करोड ३० लाख रुपैयाँ लगानी हुने भएको छ । कुल लगानीको ७० प्रतिशत अर्थात ४ अर्ब ६० करोड ८० लाख रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट ऋण लगानी हुने भएको छ । बाँकी ३० प्रतिशत अर्थात १ अर्ब ९७ करोड ५० लाख रुपैयाँ संस्थापकको स्वपूँजी (इक्विटी) को रुपमा लगानी हुने अरुण भ्यालीले जनाएको छ । आयोजनाको प्रति मेगावाट लागत २१ करोड ९४ लाख रुपैयाँ छ । लागतको हिसावले लिखु खोला आयोजना महंगो देखिएको छ ।

    लिखु खोला आयोजनामा लगानी गर्न अरुण भ्यालीले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गरेको छ । हकप्रद सेयर जारी गरेपछि अरुण भ्यालीको चुक्तापुँजी दोब्बर भई ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार रुपैयाँ पुग्ने छ । अरुण भ्यालीले अहिले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको छ ।

    प्राप्त हुने पुँजी मध्येबाट कम्पनीसँग बाँकी रहने ९३ करोड ४० लाख रुपैयाँ अरुण भ्यालीले लिखु खोला जलविद्युत आयोजनाको निर्माण गर्नको लागी स्वपूँजीमा लगानी गर्ने भएको छ । काबेली बी–१ क्यासकेडको निर्माण चरणमा ग्लोबल आइएमई बैंक र कुमारी बैकबाट १ अर्ब ३० करोड ऋण परिचालन गरिएकोमा हालसम्म १ अर्ब २७ करोड ९० लाख रुपैयाँ वक्यौता रहेको छ । हकप्रद सेयर निकासनबाट प्राप्त ९३ करोड ३९ लाख रुपैयाँ पिके हाइड्रोपावरको स्वपूँजीमा लगानी गर्ने र उक्त आयोजनाको निर्माण गर्ने अरुण भ्यालीले जनाएको छ ।

    कूल स्वपूँजी लगानी मध्येवाट अरुण भ्याली हाइड्रोपावरले ५१ प्रतिशत अर्थात १ अर्ब ७ करोड ३० करोड रुपैयाँ लगानी गर्ने छन । आयोजना निर्माण सुरु भएको ३ वर्षमा सकिने छ । आयोजनाले पूर्वाधार निर्माण कार्य गरिरहेको जनाएको छ । लिखु खोला जलविद्युत आयोजनाबाट वार्षिक १७ करोड ३८ लाख युनिट विद्युत शक्ति उत्पादन हुनेछ ।

    विद्युत बिक्रीबाट कम्पनीलाई पहिलो वर्ष ९३ करोड ६४ लाख रुपैयाँ आम्दानी हुनेछ । आयोजनाको विद्युत बिक्री दर (पिपिए) वर्षायामका लागि ४.८० र सुक्खायायामका लागि ८.४० रुपैयाँ तय भएको छ । आयोजनाले ३ प्रतिशतका दरले ८ वर्ष सम्मका लागि मूल्यवृद्धि प्राप्त गर्नेछ । बैंकबाट लिएको परियोजना ऋण कर्जा १२ वर्षभित्र चुक्ता गर्नेछ । आयोजनाको साधारण ऋण फिर्ता अवधि ६.७२ वर्षको छ ।

    आयोजनाको आन्तरिक प्रतिफल १४.६० प्रतिशत रहेको छ । यस आयोजनाले व्यवसायिक उत्पादन शुरु गरेको पहिलो वर्षदेखि नै सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने दाबी अरुण भ्यालीको छ ।
    आयोजनाको सुरुङको लम्बाइ ४२ सय १० किलोमिटर छ ।

    अरुण भ्यालीले ३ मेगावाटको पिलुवाखेला र ९.९४ मेगावाटको काबेली बि–१ क्यासकेड आयोजनाबाट बिजुली उत्पादन गरिरहेको छ । दुई आयोजनाको जडित क्षमता १२.९४ मेगावाट पुग्ने छ । लिखु खोला सम्पन्न भएपछि अरुण भ्यालीको जडित क्षमता बढेर ४२ मेगावाट पुग्नेछ । कम्पनीले पिलुवा खोलाको पानी उपयोग गरी ३ मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत आयोजना निमार्ण २०५७ साल कात्तिकदेखि सुरु गरी २०६० साल असोज १ गतेदेखि व्यवसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ ।

    कम्पनीले काबेली बी–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७८ चैत १२ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ ।

    कम्पनीले चालू आर्थिक वर्षमा १० करोड ६४ लाख रुपैयाँ नाफा गर्ने अनुमान गरेको छ । यस्तै आगामी आर्थिक वर्षमा २१ करोड ५७ लाख र तेस्रो वर्ष नाफा बढेर २४ करोड ४९ लाख रुपैयाँ पुग्ने अनुमान कम्पनीको छ ।

    अरुण भ्यालीको हकप्रद निष्कासन फागुन १७ गतदेखि भइसकेको छ । निष्काशन बन्द चैत ७ गते हुने भएको छ ।

    हकप्रद सेयर निष्कासनपछि अरुण भ्यालीको प्रतिसेयर कितावी मूल्य यो वर्ष १ सय ४, अर्को वर्ष १ सय १० र तीन वर्षमा बढेर १ सय १६.६६ रुपैयाँ पुग्ने अरुण भ्यालीले जनाएको छ ।
    यस्तै प्रतिसेयर आम्दानी यो वर्ष २.८५, आगामी वर्ष ५.७८ र तेस्रो वर्ष ६.५६ रुपैयाँ पुग्ने कम्पनीले सार्वजनिक गरेको प्रक्षेपित वित्तीय विवरणमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend