logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक

    सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक

    650
    Shares
    सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक

    काठमाडौँ । नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा सवारी दुर्घटनाबाट सरदरमा दैनिक ७ जनाको मृत्यु हुने गरेको देखिएको हो ।

    शुक्रवार नेपाल प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा तथ्यांक प्रश्तुत गर्दै केन्द्रिय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको बताए। उनले एक दिनमा ६५ वटा सवारी दुर्घटना हुने गरेको र ८३ जना घाइते हुने गरेको तथ्यांक प्रस्तुत गरे।

    उनले नेपालमा जम्मा ६२ लाख ३८ हजार ३०१ सवारी साधन दर्ता भएका र ट्राफिक प्रहरीको संख्या २ हजार ७७० जना रहेको उल्लेख गर्दै एउटा ट्राफिक प्रहरीले २ हजार २५२ वटा सवारी साधन हेर्नुपर्ने अवस्था रहेको बताउनु भयो । विगत एक वर्षको अवधिमा ट्राफिक प्रहरीले जरिवाना बापत १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ रुपैयाँ राजश्व उठाएको पनि जानकारी दिए ।

    उनले भने – ‘सडकको डाटा हेर्दाखेरी नेपालमा ७७ हजार ३०२.६८ किलोमिटर सडक रहेको देखिन्छ । त्यो सडकमा दर्ता भएका सवारी साधन ६२ लाख ३८ हजार ३०१ सवारी साधन जम्मा दर्ता भएको छ । हाम्रो ट्राफिक प्रहरी जम्मा २ हजार ७७० जना छ । दर्ता भएको सवारी साधनमा ट्राफिकको संख्या हेर्दा अनुपात एउटा ट्राफिकले जम्मा २ हजार २५२ सवारी साधन हेर्नुपर्ने देखिन्छ ।

    घटनाहरु हेर्दा एकदिन भित्र ६५ वटा दुर्घटना हुने गर्छ । ८३ जना घाइते हुन्छ सरदर । एक दिनमा ७ जनाको मृत्यु भएको देखिन्छ सवारी दुर्घटनाबाट । हाम्रो ट्राफिक प्रहरीको सिमित जनशक्तिले पनि जम्मा २४ लाख ३१ हजार ५९३ लाई कारबाही गरिएको छ भने राजश्व १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ जरिवाना गरेर त्यति राजश्व उठाएको छ ।’

    प्रहरीले २०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेको अवधिसम्म ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताएको छ । जसमध्ये सबैभन्दा धेरै १७ हजार ३९७ अपराधको मुद्दा काठमाडौँ उपत्यकाका जिल्लाहरुमा दर्ता भएको जनाइएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ९६५ अपराध दर्ता भएका छन् ।

    केन्द्रिय प्रहरी प्रवक्ता ढकालकाअनुसार देशभरमा बैंकिङ कसुरका १३ हजार २७७ वटा मुद्दाहरु दर्ता भएका छन् । महिला तथा बालबालिका सम्बन्धी २१ हजार १९७ वटा घटनाहरु दर्ता भएको उनले बताए। जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका १६ हजार ७४१ वटा निवेदन दर्ता भइ ८ हजार ३४९ निवेदनहरु मिलापत्र भएको छ । जबरजस्ती करणीको मात्रै २ हजार ४६८ वटा मुद्दाहरु दर्ता भएको प्रहरीको भनाई छ । महिला तथा बालबालिका सम्बन्धी अपराधहरु सबैभन्दा धेरै मधेस प्रदेशमा दर्ता भएको प्रवक्ता ढकालले जानकारी दिए ।

    त्यसैगरी एक वर्षको अवधिमा आत्महत्याका ७ हजार १९४ घटनाहरु दर्ता भएका छन् । कोशी प्रदेशमा सबैभन्दा बढी १ हजार ५३० वटा घटना दर्ता भएका छन् । अपहरण तथा जबरजस्तीकरणी, जबरजस्तीकरणी गरी कर्तव्य, मानव बेचविखन तथा जबरजस्ती करणी जस्ता गम्भीर प्रकृतिका अपराधहरु ५ हजार १५० वटा दर्ता भएका छन् ।

    सो प्रकारका घटनाहरु सबैभन्दा धेरै कोशी प्रदेशमा १ हजार ६६ वटा र सबैभन्दा कम गण्डकी प्रदेशमा ३१२ वटा दर्ता भएको प्रहरीले बताएको छ । त्यसैगरी लागुऔषधको ४ हजार २८४ वटा मुद्दा दर्ता भई ६ हजार ५०८ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

    प्रहरीले विभिन्न सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममार्फत घटाइएका २१२ वटा विद्युतीय कसुर तथा साइबर अपराध दर्ता भएको जानकारी दिएको छ ।

    एक वर्षको अवधिमा सहकारी संस्थामा भएका अनियमितता सम्बन्धी देशभरमा १४९ वटा मुद्दा दर्ता भई २७१ जना प्रतिवादीलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारी प्रकरणका १ हजार ११० जना प्रतिवादीहरु फरार रहेका छन् ।

    त्यसैगरी अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी १५२ वटा उजुरीहरु विभिन्न प्रहरी कार्यालयहरुमा परेकोमा १५ वटा उजुरीहरु दर्ता भइ ६ वटा मिलापत्र भइसकेको र १४६ वटा अनुसन्धानको क्रममा रहेका छन्

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend