काठमाडौं । आगामी आर्थिक वर्षमा ६ प्रतिशत हासिल हुने अनुमान सरकारले गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कूल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट कार्यान्वयनबाट सो आर्थिक वृद्धि लक्ष्य हासिल हुने जानकारी दिएका हुन् ।
चालू आर्थिक वर्षमा ३.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको कार्यान्वयनबाट आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको मन्त्री पुनले जानकारी दिए। आगामी वर्ष मुद्रास्फीति ५.५ प्रतिशत रहने अनुमान सरकारको छ। बजेटमा उल्लेखित नीति तथा कार्यक्रमको कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति तर्जुमा गर्नेछ ।
आगामी वर्षको बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगार सिर्जना हुन गई दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास लिएको अर्थमन्त्री पुनले बताएका छन् । प्रस्तुत बजेट कार्यान्वयनबाट नयाँ चरणको आर्थिक सुधार कार्यक्रम कार्यान्वयन हुने उनले जानकारी दिए ।
लामो समयदेखि पुँजीगत खर्चको परिचालनमा देखिएका अवरोध समाधान हुने र सार्वजनिक वित्त प्रणाली थप चुस्त भई सार्वजनिक खर्चको प्रभावकारिता बढ्ने उनको भनाई छ । बजेटमा प्रस्ताव गरेको राजस्वसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजस्वको आधार तथा दायरा विस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणाली स्थापित भई आन्तरिक राजस्व परिचालन सुदृढ हुँदै जाने मन्त्री पुनले जानकारी दिए।