काठमाडौं / परराष्ट्रमन्त्री शिशिर खनाल ले आज प्रतिनिधिसभाको बैठकमा आफ्नो हालै सम्पन्न भारत भ्रमण तथा प्रधानमन्त्री बालेन्द्र शाह ले जेठ १७ गते संसदमा व्यक्त गरेको सीमा सम्बन्धी धारणा बारे औपचारिक जानकारी गराएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहाले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस–बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको बताए । मन्त्री खनालका अनुसार नेपाल–भारत सीमा निर्धारणको आधार सुगौली सन्धि हो, हाल देखिएका अधिकांश सीमा समस्या १० गजा क्षेत्रमा देखिएको अतिक्रमण तथा क्रस–बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको उनको भनाइ थियो ।
सीमा क्षेत्रका बासिन्दाले परम्परागत रूपमा एकअर्काको भूभागमा खेतीपाती गर्ने अभ्यासका कारण पनि यस्ता समस्या देखिने गरेको उनले बताए । प्रधानमन्त्री ज्युले यही विषयमा आफ्नो धारण राख्नु भएको हो,अन्य विषयमा होइन ।
क्रस–बोर्डर अकुपेशनका विषयमा दुवै देशका प्राविधिक टोलीहरू सीमाक्षेत्रमा खटिएको जानकारी दिँदै उनले यससम्बन्धी विस्तृत प्रतिवेदन पछि सार्वजनिक हुने बताए। कतिपय स्थानमा भारतको भूमि नेपालतर्फ प्रयोग भएको वा नेपालले उपयोग गरिरहेको भूमि भारततर्फ परेको हुन सक्ने अवस्था पनि अध्ययनको विषय रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको धारणा पनि यही क्रस–बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको उनले स्पष्ट पारे । परराष्ट्रमन्त्रीले नेपालको संविधान, परराष्ट्र नीति, राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याए
भारत भ्रमणका क्रममा उनले नयाँ दिल्ली मा भारतीय विदेशमन्त्री एस. जयशंकर सँग औपचारिक भेटवार्ता गरेको जानकारी दिए । उक्त भेटवार्ता नेपाल–भारत द्विपक्षीय सम्बन्धका दृष्टिले उपलब्धिमूलक रहेको उनले बताए ।
भेटमा व्यापार, ऊर्जा, जलस्रोत, सीमा व्यवस्थापन, खेलकुद, जनस्तरीय सम्बन्ध तथा दुवै देशबाट सञ्चालित विकास परियोजनाबारे विस्तृत छलफल भएको मन्त्री खनालले बताए । साथै अन्तरदेशीय डिजिटल भुक्तानी प्रणाली विस्तार, भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा परियोजनाको हस्तान्तरण लगायतका तीन महत्वपूर्ण घोषणा भएको जानकारी पनि उनले दिए ।
मन्त्री खनालले नेपाल–भारत सीमा सम्बन्धी सरकारले राखेको धारणा स्पष्ट, सुसंगत र राष्ट्रिय हितअनुकूल रहेको उल्लेख गर्दै सबै राजनीतिक दललाई संवेदनशील विषयमा एकताबद्ध हुन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस