२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

७० अर्बमा ३४१ मेगावाट बुढीगण्डकी आयोजना बनाउँदै सहास ऊर्जा, निर्माणपूर्वका काम सुरु हुँदै

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । सहास ऊर्जा लिमिटेडले ३ सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलासय जलविद्युत आयोजना बनाउने भएको छ । आयोजनाले आउँदो तीन महिनाभित्र निर्माणपूर्वको काम सुरु गर्न लागेको छ । अडिट सुरुङलगायत आवास र क्याम्प निर्माण सुरु गर्ने तयारी कम्पनीको छ । निजी लगानीमा बन्न लागेको बुढीगण्डकी हालसम्मकै ठूलो जलविद्युत आयोजना हो ।

छिट्टै लगानी जुटाएर आगामी २०८२ भदौदेखि आयोजना निर्माण सुरु गर्ने योजना रहेको सहास ऊर्जाका अध्यक्ष हिमप्रसाद पाठकले बताए । उनले निर्माण सुरु भएको पाँच वर्षमा आयोजनाबाट बिजुली बाल्ने योजना रहेको सुनौलो नेपाललाई बताए । आयोजनाको काम

२०८७ पुस १५ मा सक्ने लक्ष्य रहेको छ । आयोजना बनाउन ७० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । ५२ अर्ब ५० करोड रुपैयाँ बैंकको ऋण र बाँकी १८ अर्ब ५० करोड रुपैयाँ संस्थापकको स्वपुँजी खर्च हुने अध्यक्ष पाठकले बताए । आयोजनामा ५१ प्रतिशत हिस्सा सहास ऊर्जाको हुनेछ । प्रतिमेगावाट लागत २० करोड ५३ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण र टाइम्स इनर्जीबीच ३० वर्षका लागि विद्युत खरिदबिक्री सम्झौता (पिपिए) भइसकेको छ । अर्धजलासय आयोजना भएकाले मुख्य सुक्खा समयमा प्रतियुनिट १०.५५, सामान्य सुक्खायाममा ८.४० र वर्खायाममा ४.८० रुपैयाँमा पिपिए भएको सहास ऊर्जाले जनाएको छ । आयोजनाको १३.६७ र स्वपुँजीमा १६.९९ प्रतिशत प्रतिफल हुने देखिएको छ ।

सुक्खायाममा पनि आयोजना दैनिक ५ घन्टा पूर्णक्षमतामा सञ्चालन गर्न सकिने छ । दैनिक ५ घन्टा पिकिङ हुने गरी आयोजना डिजाइन गरिएको छ ।

यस्तै सरकारले पनि आयोजनाबाट बिजुली उत्पादन गर्न अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ । वातावरणीय प्रभाव मुल्यांकन (इआइए) स्वीकृती अन्तिम चरणमा रहेको, पहुँच मार्ग विस्तार भइसकेको, वित्तीय व्यवस्थापन अन्तिम चरणमा रहेको छ ।

आयोजनाबाट वार्षिक १ अर्ब ८६ करोड ७७ लाख ७० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ ।

आयोजनाको मुल सुरुङको लम्बाइ ६.८ किलोमिटर हुने भएको छ । यो बूढीगण्डकी अर्धजलासय युक्त परियोजना हो ।

आयोजना साहस ऊर्जाको मुख्य लगानी रहेको र टाइम्स इनर्जीले निर्माण गर्न लागेको हो ।

सहास ऊर्जाले ५ मेगावाट क्षमताको रुरु जलविद्युत परियोजना र ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत परियोजना सफलता पुर्वक सम्पन्न गरी राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ । विद्युत परियोजना निर्माणमा अनुभवी र सक्षम सञ्चालक समिति भएकाले प्रतिफल पनि उच्च रहने आंकलन गरिएको छ ।

आयोजनामा पानीको वहाव प्रतिसेकेन्ड १ सय घनमिटर रहने छ । परियोजनाको बाँध क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नं ३ र विद्युत गृह धार्चे गाउँपालिकाको वडा नं ३ मा पर्दछ । बाँध क्षेत्र र विद्युत गृहबीच १० किलोमिटर सडक रहेको आयोजना राजधानी काठमाडौंबाट १ सय ७० किलोमिटरको दुरीमा रहेको छ ।

काठमाडौंबाट धादिङको सल्यानटार हुँदै गोरखाको आरुघाट, आर्खेत, सोतिखोला, माछाखोला, खोर्लावेसी हुँदै विद्युत गृह र सोही बाटो प्रयोग गरी दोभान, यारुफाँट हुँदै बाँध क्षेत्र पुग्न सकिन्छ ।

परियोजनाको मुख्य भौतिक संरचनाहरु भुमिगत रहेको कारण भुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्युन रहेको कम्पनीले जनाएको छ । परियोजनाको लागि आवश्यक पर्ने सडक खुलिसकेको छ । पहुँचमार्ग छोटो रहेको, सुरुङको लम्बाइ छोटो रहेको, डिसेन्ट हेड रहनुको साथै विद्युत खपतकेन्द्र (लोडसेन्टर) पनि नजिकै रहेको कारणले आर्थिक एवं प्राविधिक रुपमा यो परियोजना लगानीका लागि निकै आकर्षक रहेको उनले बताए ।

सहासले हकप्रद सेयर जारी गर्ने

आयोजनामा लगानी गर्न सहास ऊर्जाले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले आयोजना बनाउन १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । गत कात्तिक ४ गते सम्पन्न साधारणसभाले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गरिसकेको छ । विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति हुन बाँकी रहेको अध्यक्ष पाठकले बताए ।

साहस ऊर्जाको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत अर्थात २८ करोड रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बोनस सेयरपछि साहस ऊर्जाको चुक्ता पुँजी बढेर ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी दोब्बर भई ७ अर्ब ५६ करोड रुपैयाँ पुग्ने छ ।

गत वर्ष साहस ऊर्जाले बिजुली बेचेर २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

व्यवसायी दिपक मल्होत्राबाट साहस ऊर्जाले २ अर्ब रुपैयाँमा आयोाजना खरिद गरेको हो । मल्होत्राले टाइम्स इनर्जीमार्फत बुढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजना बनाउन लागेका थिए । उनलाई लगानी जुटाउन धौ धौ परेका बेला साहस ऊर्जाले उनलाई साथ दिएको छ । आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ ।

विद्युतगृहमा ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सेस पेल्टर्न टर्बाइन जडान गरिने छ । आयोजनाबाट उत्पादन हुने बिजुली २ सय २० केभी प्रसारण लाइन हुँदै ४५ किलोमिटर दुरीमा रहेको नुवाकोटमा बन्ने ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनमा समाहित हुनेछ । यो सबस्टेसन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले बनाउन लागेको हो ।

साहस ऊर्जाले निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत आयोजना बनाएको अनुभव छ । कम्पनीले ८६ मेगावाटको सोलुखोला (दुधकोसी) आयोजना बनाई अहिले सञ्चालनमा छ । आयोजनाले २०७९ माघ अन्तिम सातादेखि व्यावसायिक उत्पादन गरिरहेको छ ।

यो पनि : 

३४१ मेगावाट बुढीगण्डकी आयोजना बनाउन साहस ऊर्जाले हकप्रद सेयर निष्कासन गर्ने

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट