काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको छ । टीयु मैदानमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिम विजयी भएको हो ।
यस क्रममा सुदूरपश्चिमले काठमाडौंलाई ९४ रनमै अलआउट गरेको छ। जारी एनपीएलमा सुदूरपश्चिमको यो दोस्रो जित हो।
सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले हराएको थियो।
स्टेफन एस्किनाजीले बनाएको ३७ रन नै काठमाडौँका लागि सर्वाधिक रह्यो। उनले ३३ बलमा ५ चौका र १ छक्का हाने। सुमित महर्जनले १४ रन थपे। भीम सार्की र जेहार्ड इरासमसले समान १० रन बनाए।
युवा स्पिनर नरेन साउदले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो । नरेन जारी एनपीएलमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो।
प्रतिक्रिया दिनुहोस