काठमाडौ । गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ताको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।
सार्वजनिक भिडियोमा सांसद गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर जोखिमपूर्ण यात्रा गरिरहेको देखिन्छ । भिडियो भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई गैरजिम्मेवार र सडक सुरक्षाका दृष्टिले निकै जोखिमपूर्ण व्यवहारको संज्ञा दिएका छन् ।
आलोचकहरूले नागरिकलाई ट्राफिक नियम र सडक सुरक्षाको पाठ पढाउने जनप्रतिनिधि आफैँले नियमको धज्जी उडाएको भन्दै प्रश्न उठाएका छन् । सार्वजनिक पदमा बसेका व्यक्तिले यस्ता जोखिमपूर्ण गतिविधि गर्दा समाज र युवापुस्तामा गलत सन्देश जाने भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।
यस घटनाका सम्बन्धमा सांसद बब्लु गुप्ताको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
प्रतिक्रिया दिनुहोस