काठमाडौं । गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले आफ्नो व्यवहारप्रति क्षमायाचना गरेका छन् ।
सार्वजनिक भिडियोमा सांसद गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर यात्रा गरिरहेको देखिएपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो । प्रयोगकर्ताहरूले उक्त गतिविधिलाई गैरजिम्मेवार तथा सडक सुरक्षाका दृष्टिले जोखिमपूर्ण भन्दै जनप्रतिनिधिले नै ट्राफिक नियम उल्लङ्घन गरेको टिप्पणी गरेका थिए ।
आलोचनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद गुप्ताले भिडियो आफ्नो बाल्यकाल बिताएको ठाउँमा रमाइलो गर्ने क्रममा खिचिएको बताएका छन् ।
उनले लेखेका छन्, बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु ।
गुप्ताले भविष्यमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै भनेका छन्, अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु।
यसअघि भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा धेरैले जनप्रतिनिधिले स्वयं ट्राफिक नियमको पालना गर्नुपर्ने भन्दै उनको आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस