
काठमाडौं । लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले १० विकेटको जित निकालेको छ। सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको हो ।
टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पूरा गरेको हो ।
पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी साझेदारी गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो । लुम्बिनीका कप्तान रोहित पौडेलले विष्फोटक ब्याटिङ गरे । चौथो विकेटका लागि कप्तान रोहित र टम मोरिसले १ सय १० रनको साझेदारी गरे । रोहित ९५ रनमा रनआउट भए । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।
योसँगै रोहित जारी एनपीएलमा सर्वाधिक व्यक्तीगत स्कोर बनाउने पहिलो खेलाडी बने । लुम्बिनीका दुई ओपनर शून्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए । विवेक २ रनमा अविजित रहे ।
त्यस्तै, पोखराका लागि विपिन खत्रीले २ र म्याथ क्रिट्लेले एक विकेट लिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend