काठमाडौं । तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । । शुक्रबार हैदरावाद प्रहरीले साउथ सुपरस्टार अल्लुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
डिसेम्बर ४ मा हैदराबादको एक हलमा चलचित्र ‘पुष्पा- २’ को प्रदर्शनको क्रममा चलेको भाग दौडको घटनालाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इण्डियन एक्सप्रेसले यसबारे समाचार लेखेको छ । उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन् । यही मामलामा प्रहरीले उनलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले यही मामिलामा तीन जना लाई पक्राउ गरिसकेको छ ।
उक्त घटनापछि प्रहरीले सोही थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । जानकारीअनुसार घटनापछि मृतकका परिवारले प्रहरीमा उजुरी दिएका थिए । तीनै जनाविरुद्ध भारतीय न्याय संहिता ऐनको धारा १०५ र ११८ (१) र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
आफ्नो श्रीमती र छोराको अवस्थाको जिम्मेवार अभिनेता अल्लु अर्जुन भएको मृतक महिलाका पतिको भनाइ छ । अभिनेताको टिमले उनी थिएटरमा आउन लागेको कुरा प्रहरीलाई भनेको भए यति ठुलो घटना हुने थिएन भन्ने उनको तर्क छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।