काठमाडौं । निजी क्षेत्रबाट विकास गरिएको ट्रेड टावर लिमिटेडको दोस्रो परियोजना तीन तारे होटल क्रिष्टल पशुपति आउँदो वैशाखदेखि पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ ।
कम्पनीले राजधानीको गौशालामा तीनतारे होटलसहितको बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गरिरहेको छ । होटल क्रिष्टल पशुपतिको निर्माण अन्तिम चरणमा पुगेको छ ।
होटल आउँदो वैशाखदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरेको विकासकर्ता ट्रेड टावरले जनाएको छ । गत कात्तिकसम्म होटलको काम ८५ प्रतिशत सकिएको छ । यद्यपि होटल आंशिक सञ्चालनमा आइसकेको छ । ९० मध्ये ४९ कोठा सञ्चालनमा आइसकेका छन् ।
आउँदो वैशाखदेखि ९० कोठा र पसललगायत अन्य पूर्वाधार सञ्चालनमा आउने भएको छ । टावरले गरेको आम्दानीबाट होटल बनाउन बैंकबाट लिएको ऋणको ब्याज भुक्तानी गरिरहेको छ ।
निर्माणाधीन होटल नयाँ वर्षको अवसर पारेर २०८१ वैशाखबाट सञ्चालन गर्ने लक्ष्य लिएको थियो । होटल पूर्वाधार निर्माण पूरा गर्न ६५ करोड रुपैयाँ लाग्ने अनुमान छ । टावरमा संस्थागत लगानीकर्ताका साथै बैंकको ऋण लगानी छ ।
संस्थापकहरूले सबै लगानी गरिसकेका छन् भने बाँकी रकम प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गरेर जुटाउने लक्ष्य कम्पनीको छ ।
६ तला अग्लो भवनको दुई तलामा होटल सञ्चालन हुनेछ । त्यसबाहेक कार्यालय र अन्य पसल सञ्चालन हुने कम्पनीले जनाएको छ ।
थापाथलीमा रहेको ट्रेड टावरको स्थापना सन् २००७ मा स्थापना भएको हो । टावर सन २०११ देखि सञ्चालनमा आएको हो । टावरको ९५ प्रतिशत भवन भाडामा लागेको छ । कम्पनी लिजिङ, फाइनान्स, र पूर्वाधार विकासमा संलग्न छ ।
३९ करोड ७० लाखको आइपिओ ल्याउँदै
ट्रेड टावर कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ । ट्रेड टावर थापाथलीमा ३ सय ५० संस्थापक लगानीकर्ताको ७५ प्रतिशत स्वामित्व छ । यस्तै २५ प्रतिशत आइपिओ निष्कासन गर्ने योजना कम्पनीको छ ।
कम्पनीको सेयर संरचना परिवर्तन भई ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ । टावरको अध्यक्षमा शिवहरि दंगाल छन् । कम्पनीमा उनको २७ प्रतिशत स्वामित्व छ ।
ट्रेड टावर थापाथलीले एक वर्षमा ११ करोड १० लाख रुपैयाँ कारोबार गरेको छ । २०२३ मा ९ करोड, २०२२ मा कम्पनीले ८ करोड १० लाख, २०२१ मा ६ करोड ८० लाख, २०२० मा ८ करोड ५० लाख र २०१९ मा ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।