काठमाडौं । प्रदेश स्तरको सिन्धु विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको ४ सय ५० औं वैठकले चुक्ता पुँजी बढाउन हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको हो । बैंकको फागुन २८ गते हुने १४ औं तथा १५ औं वार्षिक साधारणसभामा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्ने भएको छ ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २ बराबर १ अनुमापत (प्रत्येक २ सेयरमा १ हकप्रद सेयर) जारी गर्ने प्रस्ताव साधारण सभामामा पेश गर्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुन आवश्यक न्यूनतम चुक्ता पुँजी १ अर्ब २० करोड कायम गर्न हकप्रद जारीको प्रस्ताव गरेको बैंकले जनाएको छ ।
बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने प्रस्ताव सभामा पेश गर्ने भएको छ । साधारणसभा धुलिखेलस्थित होटल मिरावलमा बस्ने निर्णय गरेको छ । साधारण सभा प्रयोजनका लागि फागुन १५ गते १ दिन बुक क्लोज गरिने बैंकले जनाएको छ ।
बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने भएको छ।
साथै, गाभ्ने गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पूरा गरी सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने एजेन्डा साधारणसभामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस