
काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त भएपछि सिमेन्टको माग घटेर उद्योगहरु न्यून क्षमतामा सञ्चालन भइरहेका छन् । यसैबीच सौरभ ग्रुपले सिमेन्टमा आक्रमक रुपमा लगानी बढाइरहेको छ । ग्रुपले सञ्चालनमा रहेका दुई सिमेन्ट उद्योगको सबै स्वामित्व खरिद गरेको छ ।
सौरभ ग्रुपको सर्वोत्तम होल्डिङस लिमिटेडले जगदम्बा सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडको सबै स्वामित्व खरिद गरेको हो । दुई उद्योगमा सौरभ र शंकर ग्रुपको संयुक्त लगानी थियो । शुभश्रीमा सौरभको ६० र शंकर ग्रुपको ४० प्रतिशत स्वामित्व थियो । शौरभले ४० प्रतिशत स्वामित्व किनेर आफ्नो बनाएको हो । सौरभ ग्रुपले शंकर ग्रुपसँग साढे ७४ करोड रुपैयाँमा बाँकी स्वामित्व खरिद गरेको हो ।
दुबै उद्योगको सम्पत्ति तथा दायित्व मूल्याँकन (डिडिए) प्रतिवेदन बमोजिम शुभश्री जगदम्बा सिमेन्टको प्रति सेयर १ सय र जगदम्बा सिमेन्टको १५ रुपैयाँका दरले सर्वोत्तमको सहायक कम्पनी सर्वोत्तम होल्डिङसमार्फत खरिद गरिएको ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताएका छन् ।
सञ्चालनमा रहेका दुवै सिमेन्ट उद्योगको २२ वर्ष पुरानो ब्राण्ड र डिलर नेटर्वकको साथ सर्वोत्तम सिमेन्टलाई पनि प्राप्त हुने उनको भनाई छ ।
नयाँ उद्योग स्थापना गर्दा हालको लगानीको ३ गुणा ठुलो पुँजीको आवश्यकता पर्छ । उद्योग स्थापना पश्चात उत्पादनको लागि आवश्यक बजार पर्वद्धन गर्न समय लाग्ने भएकाले सञ्चालनमा रहेका सिमेन्ट उद्योगको खरिद गरेको उनले जानकारी दिएका छन् ।
उद्योगका आफ्नो सबै ब्राण्डहरु नेपालको सिमेन्ट बजारमा स्थिापित र पुरानो रहकाले मुल्यवान बाण्डहहरुलाई निरन्तरता दिने योजना रहेको उनले जानकारी गराएका छन् ।
तीन वर्षअघि शुभश्री जगदम्बा सिमेन्टको कारोबार
शुभश्री जगदम्बाले सन् २०२२ मा ४ अर्ब २१ करोड ४० लाख रूपैयाँको सिमेन्ट व्यापार गरेको थियो । सन् २०२१ मा ४ अर्ब ८७ करोड ७० लाख रूपैयाँको सिमेन्ट व्यापार गरेको थियो ।
२०२० मा ४ अर्ब २२ करोड ७० लाख, २०१९ मा ५ अर्ब ९० करोड ९० लाख र २०१८ मा ५ अर्ब ५५ करोड ४० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । उद्योगले ओपीसी र पीएस सिमेन्ट उत्पादन गर्दै आएको छ ।
उद्योग सन २००८ मा स्थापना भएको हो ।
यस्तो थियो जगदम्बाको वित्तीय अवस्था
२०२२ को ९ महिनामा जगदम्बाले २ अर्ब १९ करोड रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो ।सन् २०१८ मा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँसम्मको सिमेन्टको व्यापार गरेकोमा सन् २०२१ मा आइपुग्दा कारोबार खुम्चिएको थियो ।
सन् २०२१ मा जगदम्बा सिमेन्टले २ अर्ब ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । यस्तै सन् २०२० मा उद्योगले २ अर्ब ४४ करोड रुपैयाँको मात्र कारोबार गरेको थियो ।
उद्योगले प्रसिद्ध जगदम्बा ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।
शंकर ग्रुपले जगदम्बा सिमेन्टको स्थापना सन् २००१ मा स्थापना गरेका हो । उद्योगको उत्पादन क्षमता दैनिक १ हजार टन रहेको छ । उद्योग रुपन्देहीको भैरहवामा छ ।नेपालमा ५५ वटा सिमेन्ट र २० वटा कच्चा वस्तु क्लिङकर उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् ।
सर्वोत्तम सिमेन्टको पुँजी ५ अर्ब
सर्वोत्तमले गत वर्षको नाफाबाट सेयर धनीलाई ७ प्रतिशत अर्थात ३२ करोड ५५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको छ । बोनस सेयर वितरणपछि सर्वोत्तम सिमेन्ट चुक्ता पुँजी बढेर ४ अर्ब ९७ करोड २५ लाख रुपैयाँ पुगेको छ । यसअघि ४ अर्ब ६५ करोड रुपैयाँ पुँजी थियो ।
वेस्ट हिट रिकोभरी सिस्ट स्थगन
सर्वोत्तम सिमेन्टको धितोपत्रको प्रक्षेपणमा उल्लेख भए बमोजिम ‘वेस्ट हिट रिकोभरी सिस्ट’ लागु गर्ने योजना स्थगन गरेको छ । यो प्रणाली लागू गर्ने सम्बन्धमा प्रारम्भिक अध्ययन गरे पनि सो प्रविधिको प्रयोगमा ल्याउँदा १ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी लगानीको आवश्यकता पर्ने जानकारी उद्योगले दिएको छ ।
लोडसेडिङका कारणबाट आवश्यक प्रतिफल प्राप्त गर्न नसकिने अध्ययनले देखाएपछि तत्कालका लागि यो योजना रोकेको अध्यक्ष न्यौपानेले जानकारी दिएका छन् । हाल नेपालमा जलविद्युतमा ठुलो लगानी भईरहेको र जलविद्युतबाट प्राप्त हुने विद्युत तुलनात्मक रुपमा दिर्घकालिन रुपले सस्तो हुने देखिएको हुँदा, उक्त परियोजना हालको लागि यथास्थितीमा राखिएको उनको भनाई छ ।
परियोजना लाभकारी हुने परिस्थिती सृजना भएमा उक्त प्रविधि जडान गर्ने प्रतिवद्ध रहेको अध्यक्ष न्यौपाने सर्वोत्तम सिमेन्टको छैठौं वार्षिक साधारणसभामा जानकारी दिएका थिए ।
सौरभ ग्रुपले सर्वोत्तम सिमेन्ट, जगदम्बा स्पिनिङ मिल्स, लक्ष्मी स्टिल र सर्वोत्तम स्टिल सञ्चालन गरिरहेको छ । सबै उद्योगको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने तयारी ग्रुपको छ ।
सम्बन्धित समाचार
सौरभ ग्रुपले जगदम्बा स्पिनिङ, लक्ष्मी र सर्वोत्तम स्टिलको बुकबिल्डिङबाट आइपिओ ल्याउने
जगदम्बा स्पिनिङको ४ अर्बको धागो व्यापार, भारत र टर्की निर्यातबाट धेरै आम्दानी
३०४ प्रतिशतसम्म नाफा बढाउने सर्वोत्तम सिमेन्टको योजना, यस्तो छ उद्योगको प्रक्षेपण
सर्वोत्तम सिमेन्ट ऋणमुक्त भएको छ, लगानीकर्तालाई राम्रो प्रतिफल दिने छौं (अन्तर्वार्ता)
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend