शुक्रबार, चैत्र १५ २०८१

शुक्रबार, चैत्र १५ २०८१

सेयर बजारमा चलखेल रोक्न नयाँ व्यवस्था, अन्तिम १५ मिनेटको कारोबार मूल्य निर्धारण

सेयर बजारमा चलखेल रोक्न नयाँ व्यवस्था, अन्तिम १५ मिनेटको कारोबार मूल्य निर्धारण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबारमा हुने चलखेल रोक्न नयाँ प्रावधान ल्याएको छ । धितोपत्र बोर्डले सूचिकृत कम्पनीहरुको सेयर कारोबार बन्द हुने अन्तिम १५ मिनेटको कारोबारलाई औसत मानेर भोलिपल्टको ‘ओपनिङ’ मूल्य तोक्ने व्यवस्था गरेको हो ।

धितोपत्र बोर्डले मंगलबार नै नयाँ प्रावधानलाई स्वीकृत गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रस्तावमा बोर्डले चलखेल रोक्न नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्था एक दुई दिनभित्र नै कार्यान्वयनमा आउने भएको छ ।

पहिला कारोबार बन्द हुँदाको समयको सेयर मूल्यका आधारमा (क्लोजिङ प्राइस) भोलिपल्टको ओपनिङ मूल्य निर्धारण हुँदै आएको थियो । कम्पनीको भोलीपल्टको ओपनिङ मूल्य बढाउन कम्पनीको सेयर कारोबारमा अन्तिम मिनेटमा आएर चलखेल हुँदै आएको छ ।

यसलाई नियन्त्रण गर्न बोर्डले अन्तिम १५ मिनेटको कारोबार आधार मानेर औसत मूल्य निकाल्ने र त्यसलाई भोलीपल्टको ओपनिङ मूल्य तोक्ने व्यवस्था स्वीकृत गरेको बोर्डका एक उच्च अधिकारीले सुनौलो नेपाललाई बताए ।

‘१५ मिनेटको मूल्यमा शुत्र लगाएर जुन मूल्य लिइन्छ त्यसलाई भोलिपल्टको ओपनिङ प्राइस हुनेछ । यो ‘कन्ट्रोल मेकानिजम’ हो । यसले अन्तिम मूल्यमा हुने चलखेललाई रोक्ने छ । अन्तिम १५ मिनेटमा चलखेल गर्ने संभावना कम भयो’ ती उच्च अधिकारीले भने । उनका अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुमा यो नियम लागू हुनेछ ।

बोर्डमा सन्तोषनारायण श्रेष्ठ अध्यक्ष भएर आएपछि सेयर बजारको सुधार प्रक्रिया अघि बढेको छ । बोर्डले अहिले धितोपत्र निष्कासन नियमावलीमा परिमार्जनको काम अघि बढाएको छ । बोर्डले एक समिति बनाएर निष्कासनसम्बन्धि आधा दर्जन व्यवस्थालाई पुनरावलोकन गरिरहेको छ ।

बोर्डले जलविद्युत कम्पनीको ‘लक इन पिरियड’, सेयर निष्कासन न्यूनतमदेखि अधिकतमसम्मको व्यवस्था र प्रिमियम तथा बुकबिल्डिङको विषयमा अध्ययन गर्न समिति गठन गरेको हो । बोर्डले यसअघि गरेको अध्ययनले जलविद्युत आयोजनाको लक इन पिरियडको समय बढाउनु पर्ने देखाएको थियो ।

बोर्डले लक इन पिरियड बढाएर बैंक तथा वित्तीय संस्थाको हाराहारीमा बनाउन प्रतिवेदन तयार पारेपछि जलविद्युत लगानीकर्ताले यसको विरोध गर्दै आएका छन् । जलविद्युत कम्पनी सञ्चालनमा आएको तीन वर्षपछि लक इन पिरियड खुला हुने व्यवस्था छ ।

लगानीकर्ताले ऋण लिँदा बैंकमा व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) राख्ने भएकाले लक इन पिरियडको सीमा बढाउनु आवश्यक नभएको स्रोतको भनाई छ ।

बोर्डले न्यूनतम १० प्रतिशत र अधिकतम ४९ प्रतिशत सेयर निष्कासन गर्ने व्यवस्थामा पनि पुनरावलोकन गर्न लागेको छ । अहिले चुक्ता पुँजीको न्यूनतम १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने व्यवस्था छ । अधिकतम् ४९ प्रतिशतसम्म निष्कासन गर्न पाउने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा छ । यसलाई पनि समयअनुसार पुनरावलोकन गर्नु आवश्यक भएको निश्कर्ष बोर्डको छ ।

यसैगरी बोर्डले प्रिमियम र बुकबिल्डिङ विधिको पनि पुनरावलोकन गर्न लागेको छ । बोर्डले वास्तविक (उत्पादनमूलक) क्षेत्रलाई धितोपत्र बजारमा ल्याउन प्रिमियम र बुक बिल्डिङ विधि ल्याएको हो । प्रिमियम र बुक बिल्डिङ विधि विवादमा पर्दै आएको छ ।

यसैगरि, कम पुँजी भएका कम्पनीको सेयर मूल्यमा बढाइचढाइ हुने गरेको छ । यसलाई नियन्त्रण गर्न बोर्डले अध्ययन गरेर एउटा नीति लिने भएको छ । थोरै पुँजी भएका लघुवित्त कम्पनीको सेयर संख्या कम भएकाले लगानीकर्ता त्यतै झुम्मिदा बजारमा अस्वभाविक रुपमा सेयर मूल्य बढ्ने गरेको निश्कर्ष बोर्डको छ ।

यसबीचमा बोर्डले साना तथा मझौला कम्पनी (एसएमईज) ले सेयर निष्कासन गरी पुँजी जुटाउन पाउने बाटो खुलाएको छ । बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली जारी गरेसँगै साना तथा मझौला कम्पनीलाई आइपीओ जारी गरेर पुँजी जुटाउने बाटो खुलेको हो ।

सेयर कारोबार गराउन चाहने एसएमईजका लागि अधिकतम चुक्ता पुँजी २५ करोड रुपैयाँ तोकिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend