सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रिमियममा आइपिओ ल्याउन लागेको प्राधिकरणको ६ महिनामा ११ अर्ब ३६ करोड नाफा

प्रिमियममा आइपिओ ल्याउन लागेको प्राधिकरणको ६ महिनामा ११ अर्ब ३६ करोड नाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा ११ अर्ब ३६ करोड रुपैयाँ खुदनाफा कमाएको छ । प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी, चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको करकट्टी गर्नुअघि ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षदेखि निरन्तर नाफामा छ । गत आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो । आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको जनाएको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट १ अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुवाट ५ अर्ब १६ करोड गरी कूल ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ ।

खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी भएको छ ।

यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फबाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुत्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ ।

यसैगरी प्राधिकरणले प्रिमियम दरमा साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । प्राधिकरणले चुक्ता पूँजी ३ खर्ब रुपैयाँ कायम गरी त्यसको २० प्रतिशतका दरले हुन आउने ६० अर्ब रुपैयाँको आइपिओ ल्याउने भएको हो । प्रतिकित्ता १ सय रुपैयाँमा रकममा प्रिमियम थप गरी सर्वसाधारणलाई आइपिओ निष्कासन गर्न लागेको प्राधिकरणले जनाएको छ ।

प्रिमियमसहित प्रतिकित्ता मूल्य ३ सय रुपैयाँ कायम गरी सेयर निष्कासनको प्रस्ताव गरिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । प्राधिकरणको वार्षिक आम्दानी १ खर्ब १६ अर्ब र सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढीको छ ।

सम्बन्धित समाचार

प्रतिकित्ता ३ सयमा २० प्रतिशतसम्म आइपिओ ल्याउने विद्युत प्राधिकरणको तयारी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend