
काठमाडौं । आउँदो असारसम्म बर्दियाको राजापुरमा नयाँ चिनी उद्योग सञ्चालनमा आउने भएको छ । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिजले राजापुर नगरपालिका–५ बदालपुरमा चिनी मिल सञ्चालनको तयारी थालेको हो ।
उद्योग स्थापना गर्न १ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म उद्योगको ६९ प्रतिशत वित्तीय प्रगति भएको छ ।
उद्योगमा ८० प्रतिशत बैंकको ऋण र बाँकी २० प्रतिशत संस्थापकहरुको स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । जसमा १ अर्ब ३५ करोड रुपैयाँ बैंकको ऋण र बाँकी ३३ करोड ६८ लाख रुपैयाँ स्वपुँजी लगानी हुने राजापुर सुगरले जनाएको छ । दैनिक २५ सय टन उखु क्रसिङ गर्ने उद्योगको क्षमता छ ।
उद्योगले चिनीका साथै मलोसिसबाट मदिरा पनि उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि बेग्लै उत्पादन प्लान्ट राख्ने राजापुर सुगरले जनाएको छ । उद्योगले १ अर्ब ५३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । उद्योगले २० बिघा जग्गा खरिद गरेर उद्योग पूर्वाधार बनाउन थालेको हो । मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँच हजारदेखि छ हजार बिघामा उखु खेती आवश्यक पर्ने छ । मिल सञ्चालनमा आए ५ सयभन्दा बढी जनाले प्रत्यक्षरुपमा रोजगारी पाउने भएका छन् ।
बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी चार जिल्लामा मात्रै ३ लाख ५९ हजार ३ सय ८८ टन उखु उत्पादन हुने गरेको छ । उद्योग सञ्चालनमा आउने भएपछि उखु उत्पादन बढ्ने अनुमान गरिएको छ । नेपालमा वार्षिक २ लाख ६० हजार टन चिनी खपत हुने गरेको छ । आन्तरिक उत्पादनले मात्र अपुग हुने भएपछि भारतबाट पनि ठूलो परिमाणमा चिनी आयात हुने गरेको छ ।
राजापुर सुगरका अध्यक्ष यज्ञबहादुर ओली दुई दशक भन्दा बढी समयदेखि उद्योग व्यवसायमा संलग्न छन् । उनको लगानीमा दुई दशकदेखि सुदुरपश्चिममा देउती गुट्खा इन्डष्ट्रिज सञ्चालनमा छ । उद्योगबाट गुट्खा र सुर्तिजन्य वस्तु उत्पादन हुँदै आएको छ । देउती गुट्खाले गत वर्ष ३ अर्ब ३१ करोड ८० लाख रुपैयाँ कारोबार गरेको छ ।
ओलीको लगानीमा देउती प्याकेजिङ, देउती सोप एन्ड केमिकल्स, लोटस टोबाको इन्डष्ट्रिज, होटल मेगा र देउती रियलस्टेट सञ्चालनमा छन् । राजापुर सुगर २०२३ मा स्थापना भएको हो ।
सरकारले चिनी आयातलाई निरुत्साही गर्न ४० प्रतिशतसम्म भन्सार शुल्क लगाएको छ ।
सम्बन्धित समाचार
१ अर्ब ६८ करोडमा बर्दियामा राजापुर सुगर मिल स्थापना, अर्को वर्षदेखि चल्ने
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend