काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीकर्ताहरुलाई आकर्षित गरेमात्रै देशको अर्थतन्त्रले लय समात्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आईतबार काठमाडौंमा आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र रोजागरी सिर्जनासँगै लगानीकर्तालाई आकर्षित गर्न जरुरी रहेको बताए ।
अर्थमन्त्री पौडेलका अनुसार वर्तमान सरकार निजी क्षेत्रका कुरा सुन्न र निजी क्षेत्रका समस्या समाधान गर्न गम्भीर रहेको बताए । यसै क्रममा, वर्तमान सरकारले सरकार निर्माण भएसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आर्थिक सुधार सुझाव आयोग गठन गरेर अर्थतन्त्रका समस्या समाधान गर्ने प्रयास गरेको जानकारी दिए।
उनले अध्यादेशमार्फत विधेयक ल्याएर अर्थतन्त्रमा देखिएका समस्या समाधानको पहल गरेको उल्लेख गरे । अर्थतन्त्र चलायमान बजेटबाट गर्न सकिने र कानूनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरु कानून निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने बताए।
उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रले दिएका सुझावहरुलाई सम्भव भएसम्म सरकारले ध्यान दिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस