काठमाडौं । होटल क्षेत्रमा अर्बौं लगानी भएपनि बनेका विमानस्थल नचल्दा र सडकहरु समयमै नबन्दा होटल क्षेत्र ठूलो मारमा परेको छ ।
होटल एशोशिएसन नेपाल (हान) का अध्यक्ष विनायक साहले अन्तर्राष्ट्रिय चेनहरु ल्याएर अर्बौं लगानी भएका होटलहरु खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको बताए । आगामी वर्षको बजेटबारे कुराकानी गर्दै अध्यक्ष शाहले होटल क्षेत्रमा क्षमता धेरै विस्तार भइसकेको बताए । अध्यक्ष साहकाअनुसार हस्पीटालिटी क्षेत्रमा ३५–३६ लाख पर्यटक आउँदा पनि स्तरीय सेवा दिनसक्ने क्षमता छ ।
तर कनेक्टिभिटी सुचारु नहुँदा समस्या भइरहेको छ । उनका अनुसार आर्थिक चाप, देशमा तरलता धेरै छ । वाह्य सूचकहरु राम्रो देखिन्छ । व्यवसायीहरुले अनुभुति गर्ने भनेको आन्तरीक अर्थतन्त्र चलायमानबाट नै हो । तर त्यस्तो रुपमा देखिँदैन ।
अध्यक्ष साहकाअनुसार सरकारले नीति तथा कार्यक्रममा केही कुराहरु राम्रो ल्याएको छ, त्यसलाई समेत समेटेर बजेट ल्याउनुपर्छ । बजेटले अहिलेको मुलभुत समस्या भनेको कनेक्टीभिटीलाई जोड दिनुपर्छ । पोखरा, चितवनका राजमार्गहरु वर्षौंदेखि बनिरहेका छन् । कहिले सकिने भन्ने यकिन छैन । समयसीमा नै तोकेर ती राजमार्गहरु स्तरोन्नति गर्नुपर्ने उनको भनाई छ ।
अध्यक्ष साहकाअनुसार यस्ता कुराहरुलाई बजेटले सम्बोधन गर्नुपर्छ । पर्याप्त बजेट भएनन् भने ती राजमार्गहरुको भविष्य झनै अनिश्चित हुने भएकाले त्यसमा ध्यान दिन जरुरी रहेको उनले बताए । अध्यक्ष साहकाअनुसार अहिलेको बजेटले ती राजमार्गका सन्दर्भमा फरक हिसावले हेर्नुपर्छ । पूर्वाधार निर्माणमा सरकारी निकायबीच नै समन्वयको अभाव देखिएको भन्दै शाहले त्यस्तो अभाव रहन नहुने बताए ।
अध्यक्ष साहले भैरहवा र पोखरा एयरपोर्टलाई दु्रत रुपमा पूर्ण सञ्चालनमा ल्याउनेगरी सरकार लाग्नुपर्ने बताए । उनकाअनुसार त्यसो भयो भने एक वर्षमा पर्यटकको संख्या दोब्बर गर्न सकिन्छ । त्यतातिर बजेट केन्द्रित हुनुपर्छ ।
शाहकाअनुसार पर्यटन क्षेत्र र हस्पिटालिटी क्षेत्रमा औपचारिक र अनौपचारिक दुवै देखिन्छ । औपचारिक क्षेत्रले राज्यका नीति नियमसँगै सबै पालना गरेको हुन्छ भने अनौपचारिक क्षेत्रले केही पालना गरेको हुँदैन । त्यो क्षेत्र एकदमै फस्टाएर गएको छ । राम्रो लगानी गरेर सरकारको नीति नियम मानेर सरकारलाई कर तिरेर गर्ने होटलहरु र अनौपचारिक क्षेत्रका होटलहरुले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । यो कुरालाई बजेटले हेर्नुपर्छ ।
अहिले देशमा तीन तहका सरकार भएकाले एकआपसमा समन्वयको खाँचो रहेको बताउँदै उनले निजी क्षेत्रबीच ती सरकारहरुले समन्वयन गर्न नसकेको समेत बताए । अध्यक्ष साहकाअनुसार जतिसुकै नीति तथा कार्यक्रम बजेट राम्रो भएपनि त्यसको कार्यानवयन प्रभावकारी नभए अर्थ हुँदैन । विगतमा पनि राम्रा कार्यक्रम योजना ल्याइएपनि कार्यान्वयन भने हुन नसकेको उनको भनाइ छ । बजेटले यसपाली तोकेकोमध्ये १५—२० प्रतिशत मात्रै काम शुरु हुने र फत्ते नहुने गरेको साहले बताएका छन् ।
बजेट कार्यान्वयनलाई सरकारले प्रभावकारी हिसावले नबढाएसम्म निजी क्षेत्रको विकास नहुने उनको बुझाइ रहेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको सक्रियतामा अध्यादेशमार्फत आएको होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा मान्यता दिइनु सकारात्मक भएको अध्यक्ष साहको भनाई छ ।
अध्यक्ष साहकाअनुसार कागजमा मात्रै पाएर हुँदैन । त्यसको नीति, नियमावली, कार्यविधि छिटो भन्दा छिटो बनाइनुपर्छ । अहिले त्यस्ता चिजहरु नबन्दा अहिले सुविधाबाट वञ्चित हुनुपरेको छ । व्यवसायीले ऋण लिएर साँवा व्याज तिर्न समस्या परिरहेकाले बजेटमा यसबारे बोलिदिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस